मंगलबार, असोज ८ गते २०८१    
images
images

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले मोबाइल एपबाटै कर्जा लिन सक्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १ २०७९
images
images
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले मोबाइल एपबाटै कर्जा लिन सक्ने

विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउने भएका छन्।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन्। कोषले आजदेखि मोबाइल एप सञ्चालनमा ल्याएको छ।

images
images
images

सोही एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन सक्नेछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विशेष सापटी र मोबाइल एपको शुभारम्भ गरे। 
 
सो अवसरमा मोबाइल एपबाटै कोषमा योगदान गरिरहेका विनयकुमार महतो र पवनबाबु प्रधानले विशेष सापटी तथा केशव खड्काले अवकाश सुविधाबापतको रकम प्राप्त गरे।

एपमार्फत कोषमा योगदान गरेको रकम र विभिन्न सापटी तथा कर्जा लिएको विवरण लिन सकिने छ। कोषमा जम्मा भएको ८० प्रतिशत रकम (विशेष सापटी) झिक्नका लागि आवेदन दिने, सूचीकृत अस्पतालको सूचीलगायत विभिन्न सुविधाका बारेमा जानकारी लिन सकिने कोषका सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए। 

विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउने भएका छन्। कोषमा योगदान सङ्कलन गर्न सुरु थालेयता करिब सात सय योगदानकर्ता त्यस्तो सुविधाका लागि योग्य भएका छन्। उनीहरुले आवश्यक परेको अवस्थामा सापटी तथा कर्जाका लागि आवेदन दिन सक्नेछन्। 

images

हालसम्म कोषमा तीन लाख ५२ हजार नौ सय २४ योगदानकर्ता सूचीकृत भएका छन्। कोषमा रु २२ अर्ब आठ करोड योगदान रकम सङ्कलन भइसकेको छ। कोषले विसं २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो। सूचीकृत योगदानकर्ताको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा मासिकरुपमा जम्मा गर्नुपर्छ। आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकका तर्फबाट र बाँकी २० प्रतिशत रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। 

योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा कोषमा सूचीकृत भएर तीन वर्ष नियमित योगदान गरेका योगदानकर्ताले सापटी र कर्जा सुविधा लिन सक्ने व्यवस्था छ। निर्देशिकाअनुसार योगदानकर्ताले नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न कर्जा पाउनेछन्। 

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले विशेष सापटी र कर्जा लिनका लागि ३६ महिना योगदान गरेको तथा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेको हुनुपर्ने बताए। धितो मूल्याङ्कनका आधारमा योगदानकर्ताले अधिकतम ७५ लाख वा १५ वर्षको तलब बराबरको रकम पाउनेछन्। 

योगदानकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि अधिकतम ३५ लाखसम्म कर्जा पाउनेछन्। शैक्षिक कर्जाअन्तर्गत भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, होस्टल वा आवाज खर्च, शैक्षिक सामग्री शुल्क तथा ट्राभल र बीमा खर्च  पाउनेछन्। 

योगदानकर्ताले आफू वा एकाघर/सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि सामाजिक कार्य सापटी प्रदान गर्न सकिने छ। तीन वर्ष जम्मा गरेका योगदानकर्ताले अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकम प्राप्त गर्नेछन्।

सो अवसरमा श्रममन्त्री कुँवरले कोषको सेवालाई प्रविधिमैत्री बनाउन निर्देशन दिए। कोषका योजनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउन आग्रह गरे। कोषका अध्यक्ष एवं श्रम सचिव अर्यालले कोषमा जम्मा भएको रकमको सदुपयोग गरी योगदानकर्तालाई विभिन्न सुविधा दिन शुरु भएको बताए। रासस


प्रकाशित : बुधबार, भदौ १ २०७९१२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend