मंगलबार, असोज ८ गते २०८१    
images
images

२६ दिनमै २० उद्योगमा ३६ अर्ब लगानी प्रतिबद्धता

images
सोमबार, साउन ३० २०७९
images
images
२६ दिनमै २० उद्योगमा ३६ अर्ब लगानी प्रतिबद्धता
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको २६ दिनमा २० उद्योग दर्ता भएका छन्। दर्ता भएकामध्ये अधिकांश होटल तथा जलविद्युतसँग सम्बन्धित उद्योग छन्। 

images
images
images

साउन महिनाको २६ गतेसम्म उद्योग विभागमा २० उद्योग दर्ता भएका हुन्। यी उद्योगले करिब ३६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन्। दर्ता भएका उद्योगमध्ये ८ वटा उद्योगमा शतप्रतिशत वैदेशिक लगानी रहेको उद्योग विभागले जनाएको छ। बाँकी १२ उद्योगमा शतप्रतिशत स्वदेशी लगानी गर्ने प्रतिबद्धता रहेको छ। 

दर्ता भएकामध्ये सबैभन्दा बढी लगानी प्रतिबद्धता तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाँचौं जलविद्युत आयोजना) रहेको छ। यो आयोजनाका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ। 

दर्ता भएका २० उद्योगले १६ सय ६९ जनालाई रोजगारी दिने अनुमान गरेका छन्। शतप्रतिशत विदेशी लगानी प्रतिबद्धता गरिएका उद्योगहरुमा ग्रीन इन्टेलीजेन्स नेपाल प्रालि, लुवान इष्टर्न नेपाल प्रालि, वर्डवाइड कन्सर्न कन्स्ट्रक्सन कम्पनी प्रालि, याङ याङ इन्टरनेशनल कार्गो प्रालि, मारीया होटल एन्ड रेस्टुराँ प्रालि, युवान होटल एन्ड रेस्टुराँ प्रालि रहेको छ। 

images

त्यस्तै हुवालिन होटल एन्ड रेस्टुराँ प्रालि तथा एनएसएस पावर प्रालिमा विदेशी लगानी प्रतिबद्धता रहेको छ। 

विभागका अनुसार २६ दिनमै ३ वटा ठूला तारे होटलमा मात्रै ६ अर्ब ६० करोडको लगानी प्रतिबद्धता आएको छ। जसमा झापाको मेचिनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टन र मेचिनगरकै वडा नम्बर १३ मा आयुष्मान होटल सञ्चालन गर्ने गरी उद्योगमा दर्ता भएको हो।

होटल ईष्टनमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टन होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुँरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा सतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

काठमाडौंमा २ अर्ब ४० करोडको लगानीमा तारे होटल बन्न लागेको हो। काठमाडौंमा बुढानिलकण्ठमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानिलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिबद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुँरा बन्ने छ। सतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी झापाको मेचिनगरमै २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरा समेत बने छ। सत प्रतिशत नेपाली लगानी रहने होटलमा ३ सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली समेत खपत हुने दर्ता विवरणमा उल्लेख छ। 


प्रकाशित : सोमबार, साउन ३० २०७९०३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend