मंगलबार, असोज ८ गते २०८१    
images
images

मिटरब्याजी पीडितलाई सरकारको आह्वान - तथ्य र प्रमाण जुट्ने गरी उजुरी दिनू

images
शनिबार, साउन २८ २०७९
images
images
मिटरब्याजी पीडितलाई सरकारको आह्वान - तथ्य र प्रमाण जुट्ने गरी उजुरी दिनू
फाइल तस्बिर।
images
images

काठमाडौं- सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ।

images
images
images

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न आग्रह गरेको हो।

‘मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ’, कार्यदलका संयोजक डा भीष्मकुमार भुसालद्वारा जारी सूचनामा भनिएको छ।

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अफ्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएको समाचारहरू सार्वजनिक भइरहेका छन्। त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानूनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहेको गृहमन्त्रालयले जनाएको छ। अझै धेरै पीडितहरू आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारका लागि पहल गर्न नसक्ने अवस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ।

images

मन्त्रालयले कार्यदल गठन भएको एक घण्टा भित्रैमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डलामा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समितिसँग काठमाडौंका प्रजिअ नेतृत्वको टोलीले वार्तासमेत गरिसकेको जनाएको छ। उक्त समस्या नवलपरासीमा मात्रै नभई अधिकांश जिल्लाहरूमा रहेको हुनसक्ने भएकाले स्थानीय प्रशासनमा उजुरी दर्ता गर्न आह्वान गरिएको हो। 

गृहमन्त्रालयले शुक्रबारमात्रै मन्त्रालयका सहसचिव डा भुसालको संयोजकत्वमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेको कर्यादल गठन गरेको थियो।

कार्यदलको सदस्यसचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी छ। 


प्रकाशित : शनिबार, साउन २८ २०७९०८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend