मंगलबार, असोज ८ गते २०८१    
images
images

२५ वर्ष पुरानो शौचालय पुनःनिर्माण, मेयर बालेनले भने- शौचालय हुनु त यस्तो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २२ २०७९
images
images
२५ वर्ष पुरानो शौचालय पुनःनिर्माण, मेयर बालेनले भने- शौचालय हुनु त यस्तो

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं-२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक  रुपमा स्तरोन्नति गरिएको छ।

images
images
images

कामपा-२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा  स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री छन्। पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन्। कामपा-२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिरबार नवनिर्मित शौचालयको शुभारम्भ गरे।

कामपाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो राखे। उनले भने 'सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित। महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ। यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ।' शौचालयमा प्रयोग भएको आकासेपानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिँदै  शौचालयलाई सिकाइ केन्द्रका रुपमा विकास गर्न सकिने सुझाव दिए।

सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिला, अपाङ्ग तथा वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय बनाउन एरोसान सस्टेनेबल स्यानिटेसनले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ।  एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्द्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्वस्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट पाँचसम्म पुग्न सफल भएको थियो।

images

सो अवसरमा वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्य गर्दै आएको जानकारी दिँदै  यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरिएको बताए।

'वडावासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुलाई सुविधासम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो भने आगामी दिनहरुमा पनि आवश्यकताअनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथमिकता दिनेछ', उनले भने। 

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ। यस बीचमा करिब पाँच लाख ९१ हजार दुई सय ६९ परुष र एक लाख ८० हजार पाँच सय ३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए। 

शौचालयबाट उत्सर्जित दिसापिसाबजन्य फोहर व्यवस्थापनका लागि बायो ग्यास प्रविधिको जडान गरी हालसम्म ७० हजार ६ सय ९९ लिटर पिसाब र नौ हजार पाँच सय ७९ किलो दिसा व्यवस्थापन गरी ७०५.२ लि. बायो ग्यास अर्थात् ४९.४ सिलिन्डर एलपिजी ग्यास उत्पादन गरिसकेको छ भने फोहर पानी प्रशोधन प्रणालीमार्फत तीन लाख ६० हजार लिटर फोहर पानी प्रशोधन र आकासेपानी सङ्कलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार एक सय ६० लिटर आकासपानीको सङ्कलन गरेर शौचालयमा प्रयोग गरिएको छ  

एरोसानका कार्यकारी प्रमुख अमात्यले भने 'प्रशोधन गर्ने क्षमता भएको फोहर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ। मानव मलमूत्रलाई शौचालयमै व्यवस्थापन गरी बायो ग्यास उत्पादन गर्न १० घनमिटरको बायो ग्यास प्लान्ट शौचालय परिसरमै निर्माण गरी वातावरण मैत्री बनाउन अहम् भूमिका खेलेको छ।' 

कार्यक्रममा कामपाका प्रवक्ता नवीन मानन्धर, वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल साथै वातावरण विभाग प्रमुख सरिता राईको सहभागिता थियो। रासस


प्रकाशित : आइतबार, साउन २२ २०७९०४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend