सोमबार, असोज ७ गते २०८१    
images
images

अधिकांश स्थानमा वर्षाको सम्भावना, ठाउँ-ठाउँमा पहिरोले सडक अवरुद्ध

images
मंगलबार, साउन १७ २०७९
images
images
अधिकांश स्थानमा वर्षाको सम्भावना, ठाउँ-ठाउँमा पहिरोले सडक अवरुद्ध

विगत केही दिनयतादेखि सक्रिय मनसुन बुधबारदेखि केही कमजोर भई मौसममा सुधार हुने सम्भावना रहेको मौसमविद्‍ले बताएका छन्।

images
images

काठमाडौं- देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ।  

images
images
images

प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विगत केही दिनयतादेखि सक्रिय मनसुन बुधबारदेखि केही कमजोर भई मौसममा सुधार हुने सम्भावना रहेको मौसमविद्‍ले बताएका छन्। हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। 

images

ठाउँ ठाउँमा सडक अवरुद्ध

अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीका अनुसार बिहान ८ बजेर ५० मिनेट जाँदा पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ स्थित कुरिनघाटनजिकै  माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला  प्रहरी कार्यालयका  प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 

यस्तै त्रिभुवन राजपथअन्तर्गत हेटौँडा-भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ।  बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन्।

बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए। उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ। हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौँडा काठमाडौं मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ। मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ।

यस्तै डुम्रे-बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ।अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो।

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ। वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिलेसम्म पनि लेदो आइरहेको र सडक खुलाउने कार्य सुरु गर्न समस्या भइरहेको उनको भनाइ छ। विगतमा ठूलो पहिरा गएकाले सोही पहिरा हुँदै लेदो आउदा पटक-पटक समस्या भइरहेको छ।

यस्तै अविरल वर्षाका कारण मेलम्ची नगरपालिका-१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए।

पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने प्रमुख उनको भनाइ छ। पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ।

यस्तै अविरल वर्षाका कारण जिल्लाका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन्। कतै पहिरो तथा कुनै स्थानमा सडक भासिदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार साँझ ६ बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ । कास्कीको रुपा गाउँपालिका-१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-७ बिरेठाटी स्थितमा नयाँपुल-घान्द्रुक-उल्लेरी जाने पक्की बाटो पहिराका कारण अवरुद्ध भएको छ। बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमबार साँझ पहिरो आई बाटो बन्द भएको बताइन्छ। पर्यटकीय गन्तव्य घान्द्रुक जाने एकमात्र सडक पहिराले अवरुद्ध भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन्।

यसैगरी सोमबार राति १०ः०० बजेको समयमा पोखरा-२९ घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ओभरफ्लो हुँदा राजमार्ग केही समय अवरुद्ध भएको बताइन्छ। पानी सडकमा जाँदा सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। 

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ। पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो। पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। 

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी-गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन्। 


प्रकाशित : मंगलबार, साउन १७ २०७९०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend