काठमाडौं- विद्युतीय प्रायोगकर्ता वा किन्न चाहने सबैको पहिलो चासो नै आफूले सोध्दै गरेको कारले एकपटककोृ फल चार्जमा कति रेन्ज दिन्छ भन्नेमै हुने गरेको छ। कारमा प्रयोग भएको ब्याट्रीको क्षमता कति छ र त्यसले कति किलोमिटर कुद्छ भनेर नसोध्ने उपभोक्ता भेटिँदैन।
यो जिज्ञासा कुनै एक कम्पनी वा एक भुगोलको उपभोक्ताले नभइ संसारभरका उपभोक्ताले सोध्ने गरेका छनु। त्यसैले यसलाई संसारभरको साझा प्रश्न वा जिज्ञासाका रुपमा व्याख्या हुँदै आएको छ। यसलाई उपभोक्ताको ‘रेन्ज एन्जाइटी’का रुपमा लिइँदै आएको छ।
विद्युतीय कार उत्पादनको इतिहास धेरै पुरानो भएपनि यसको पुनरोदय भने पछिल्लो दुई दशकअघि भएको हो। संसारभर फोसिल फ्युल सवारीका कारण वातावारण प्रदूषणमा महत्वपूर्ण भूमिका रहेको भन्दै यसको विकल्पमा बसह, छलफल, अनुसन्धान तीब्र रुपमा हुन थाल्यो। टेस्लालगायत कम्पनीले २१औं शताब्दीको पहिलो दशकमा धेरै काम गरेर २०१२ त्यसको परिणाम आयो। त्यसयता स्टार्टअप विद्युतीय कार उत्पादक कम्पनी मात्र होइन परम्परागत कार उत्पादक पनि तीब्र रुपमा कार उत्पादनमा होमिइ सकेका छन् भन्दा फरक पर्दैन।
यतिसम्मकी संसारका ठूला कार उत्पादकहरु टोयोटा, फक्सवागन, फोर्ड जनरल मोटर, बीएमडब्लूलगायत सबैजसो कम्पनीले विद्युतीय कार उत्पादनलाई प्राथमिकतामा राख्न थालेका छन्। विद्युतीय कार उत्पादन दर्ता कुन कम्पनीले कति धेरै रेन्ज दिने कार सार्वजनिक भयो भन्ने बारे सबैको चासो हुने गरेको छ।
यसको अर्थ विद्युतीय सवारी खरिद गर्न चाहनेहरुले आफूले किन्न सक्ने सम्भावित कारले कति किलोमिटर रेन्ज दिन्छ भनेर कुर्नेहरु नै भेटिने गरेका छन्। हाल संसारभर विद्युतीय सवारीको उत्पादन तथा प्रयोग प्रारम्भिक चरणमै छ। संसारभर उत्पादन र बिक्री हुने सवारीको संख्यामा विद्युतीय कारको हिस्सा कमनै छ। युरोप, चीनलगायतमा तुलनात्मक रुपमा अलिबढी विद्युतीय सवारी बिक्री हुन थालेका छन्।
विद्युतीय सवारीमा ब्याट्रीको महत्व धेरै छ। समग्र कारको लागतमा ५० प्रतिशतभन्दा बढी लागत ब्याट्रीमै लाग्ने गरेको छ। तर रेन्जकै लागि भने ब्याट्रीको क्षमता बढाउने विषयमा धेरै चिन्ता गर्नुभन्दा चार्जिङ नेटवर्कमा बढी केन्द्रित हुनुपर्ने सीएनएनले लेखेको छ। उक्त वेबसाइटले एउटा अनुभवमा आधारित लेखमा ब्याट्रीको क्षमता बढाएर धेरै रेन्ज पाउनेतर्फ लाग्नुभन्दा चार्जिङ नेटवर्क बनाउदा बढी लाभदायक हुने उल्लेख गरिएको छ।
हाल विश्व बजारमा उपलब्ध ३ सयदेखि ५ सय किलोमिटर रेन्ज दिने विद्युतीय कार नै स्ट्यान्डर्ड रेन्ज रहेको र अब चार्जिङ नेटवर्क बनाउने हो भने जतिपनि यात्रा गर्न सकिने छ। सार्वजनिक रुपमा बन्ने चार्जिङ नेटवर्क विस्तारमा सरकार तथा कार उत्पादकले विशेष चासो दिने हो भने यो समस्या छोटो समयमै समाधान हुन सक्छ।
उदाहरणको रुपमा अमेरिकाले सबै कम्पनीका सवारी चार्ज गर्न मिल्ने गरि देशभर चार्जिङ नेटवर्क बनाउँदै छ। यसका लागि सरकारले ५ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ। त्यस्तै भारतमा भारत सरकारले विभिन्न स्किम ल्याएर विद्युतीय सवारी उत्पादन र चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ। भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पनि भारतभर ईभी इको सिस्टम नै बनाइ रहेको छ।
नेपाललमा पनि केही ससयपछि विद्युतीय सवारीमा रेन्जभन्दा चार्जिङ नेटवर्क प्राथकितामा पर्नेछ। नेपाल विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउँदै छ। सरकारले विद्युतीय सवारीको प्रावद्र्धन गर्ने नीति लिएकाले आगामी दिनमा यस्ता नेटवर्क बनाउन सरकारले पनि थप लगानी गर्ने नै छ। यता निजी क्षेत्रबाट पनि धमाधम ठूला सहर तथा राजमार्गहरुमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ।
त्यसैले विद्युतीय सवारीमा ब्याट्रीको रेन्जभन्दा चार्जिङ नेटवर्कलाई प्राथमिकता दिइयो भने रेन्ज एन्जाइटी कम हुने निश्चितप्रायः छ।