सोमबार, असोज ७ गते २०८१    
images
images

५ सय वर्ष पुरानो राजकुवा संरक्षण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १५ २०७९
images
images
५ सय वर्ष पुरानो राजकुवा संरक्षण गरिँदै

सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएका हुन्।

images
images

गलेश्वर- म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन्। बेनी नगरपालिका-२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५ सय वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हुन्। 

images
images
images

ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ। स्थानीयवासी सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ। स्थानीयवासीले श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका छन्।

सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो। ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणलेसमेत महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका ऐतिहासिक सम्पदा रहेका छन्।

यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायतका हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायत सामग्री छन्। सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएको अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए।

images

अगुवा कार्कीका अनुसार मल्लको दरबार भएको स्थानमा निर्माण गरिएको खड्गभवानी कोतमा ५ सय वर्ष पुराना ऐतिहासिक हातहतियारलगायत सामरिक र धार्मिक महत्वका सम्पदा छन्। पुरातात्विक र ऐतिहासिक महत्वका ती सम्पदाको संरक्षणमा स्थानीय तहले समेत खासै चासो नदेखाउँदा आफ्नो पहिचान नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि आफूहरु अगाडि सरेको स्थानीयवासी बताउँछन्। 

तत्कालीन राजा भर्तिवमले आफू र आफ्नो राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा ऐतिहासिक सम्पदा भए पनि त्यसको संरक्षणमा कसैको ध्यान नपुग्दा लोप हुने अवस्थामा पुगेको थियो। राजा भर्तिवमले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुई अलगअलग कुवा बनाइ एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंबदन्ती छ। सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख भेटिएको छैन। 

ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बुढापाकाको भनाइ छ। ज्यामरुककोटका ९६ वर्षीय रणबहादुर कार्कीका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे।

तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपायाँ मरणासन्न अवस्थामा पुगेकाले राजा भर्तिवमले आफ्ना दरवारियालाई पानी खोज्न लगाउने सात्लेपानीमा पानीको मुहान भेटाएपछि कुवा खन्न लगाएको भन्ने इतिहास छ। कुवा अहिले पनि पुरानैस्वरुपमा छ। कुवा वरिपरीको जमिन भासिन थालेकाले स्थानीय तहको पहलमा संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग छ। रासस


प्रकाशित : आइतबार, साउन १५ २०७९१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend