सोमबार, असोज ७ गते २०८१    
images
images

सामाजिक सुरक्षा भत्तामा लुट : मरेका मान्छेको नाममा पनि बाँडियो भत्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १५ २०७९
images
images
सामाजिक सुरक्षा भत्तामा लुट : मरेका मान्छेको नाममा पनि बाँडियो भत्ता

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फारामबमोजिम स्थानीय तहको मूल अभिलेखकबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ। 

images
images

तनहुँ- तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ।

images
images
images

जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा  म्याग्द गाउँपालिका तथा शुक्लागण्डकी, भानु र  भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो। देवघाट गाउँपालिकामा आव २०७७/७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा ४८ हजार १ सय रुपैयाँ भत्ता वितरण भएको छ।

देवघाट-५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो चौमासिकमा १२ हजार, देवघाट-३ का धनमाया पौडेल क्षेत्रीका नाममा दोस्रो चौमासिकमा १२ हजार र सोही वडाका अम्मरबहादुर थापाका नाममा तेस्रो चौमासिकमा १२ हजार भत्ता वितरण भएको छ।  सापकोटाको विसं २०७७ पुस १७, सुवेदीको २०७७ माघ ३०, क्षेत्रीको २०७७ पुस १८ र थापाको २०७७ चैत ४ गते मृत्यु भएको थियो।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फारामबमोजिम स्थानीय तहको मूल अभिलेखकबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ। 

images

ऋषिङ गाउँपालिकामा तीन मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ। वडानं ७ का भिमबहादुर दमाईंका नाममा प्रथम चौमासिकमा तीन हजार, विष्णुमाया आलेका नाममा प्रथम चौमासिकमा नौ हजार, र डिलबहादुर थापाको नाममा प्रथम चौमासिकमा ११ हजार, दोस्रो तथा तेस्रो चौमासिकमा २४ हजार भत्ता वितरण भएको छ। दमाईको विसं २०७७ असोज २८ गते, आलेको विसं २०७७ भदौ १ गते र थापाको विसं २०७७ साउन १० गते मृत्यु भएको थियो।  

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा पालिकाले चौमासिक भत्ता वितरण गर्दा मृत्युपश्चात् पनि भत्ता निकासा गरेको थियो।

शुक्लागण्डकी नगरपालिकाले मृत्यु भएका आठ ज्येष्ठ नागरिकको नाममा भत्ता वितरण गरेको छ। शुक्लागण्डकी-१० का केसरी थापालाई तेस्रो चौमासिकको चार हजार ५००, दानबहादुर थापालाई तेस्रो चौमासिकको तीन हजार, शुक्लागण्डकी-५ का हुमनाथ भण्डारीलाई तेस्रो चौमासिकको पाँच हजार, शुक्लागण्डकी-७ का रुपा विकलाई प्रथम चौमासिकको तीन हजार, पुुमादेवी विकलाई प्रथम चौमासिकको तीन हजार तीन सय, चोलाकुमारी श्रेष्ठलाई प्रथम चौमासिकको दुई हजार पाँच सय, उजेली सार्कीलाई प्रथम चौमासिकको आठ हजार र नोमलाल बस्याललाई तेस्रो चौमासिकको सात हजार सात सय वितरण गरिएको छ।

महालेखा परीक्षकको कार्यालयले व्यक्तिको मृत्युपश्चात् पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ। आँबुखैरेनी गाउँपालिकाले सात मृत्यु भइसकेका व्यक्तिका नाममा उक्त भत्ता वितरण गरेको छ।

आँबुखैरेनी-३ का वेदनारायण श्रेष्ठलाई तेस्रो चौमासिकको नौ हजार आठ सय, दलबहादुर परियारलाई दोस्रो र तेस्रो चौमासिकको सात हजार सात सय ४१, आँबुखैरेनी-५ का जालुमा गुरुङलाई तेस्रो चौमासिकको दुई हजार नौ सय, आँबुखैरेनी-४ का रामबहादुर भुजेललाई पहिलो चौमासिकको एक हजार आठ सय र दोस्रो चौमासिकको एक हजार तीन सय र आँबुखैरेनी-६ का आशबहादुर गुरुङलाई तेस्रो चौमासिकको दुई हजार सात सय वितरण गरिएको छ। 

घिरिङ गाउँपालिकाले आठ जनालाई मृत्यु भएपश्चात् पनि भत्ता वितरण गरेको छ। घिरिङ-३ का गजकेशर थापालाई प्रथम र दोस्रो चौमासिक गरी १२ हजार, नरबहादुर कामीलाई तेस्रो चौमासिकको नौ हजार, मानबहादुर श्रेष्ठलाई तेस्रो चौमासिकको नौ हजार, सेती श्रेष्ठलाई तेस्रो चौमासिकको आठ हजार दुई सय, घिरिङ-४ का नरिमाया राना मगरलाई दोस्रो र तेस्रो गरी १६ हजार सात सय, लीलबहादुर कुमाललाई दोस्रो चौमासिकको रु तीन हजार सात सय, मोतीराज रानाभाटलाई तेस्रो चौमासिकको चार हजार सात सय र घिरिङ-१ का मुक्तिलाल कुमाललाई तेस्रो चौमासिकको दुई हजार छ सय वितरण गरिएको छ । 

त्यसमध्ये गजकेशरको २०७७ कात्तिक २२, नरबहादुरको चैत २५, मानबहादुरको चैत २५, सेतीको २०७८ वैशाख ८, नरिमायाको विसं २०७७ माघ १३, लीलबहादुरको माघ २३, मोतीराजको २०७८ जेठ १३ र मुक्तिलालको असार ४ गते मृत्यु भएको थियो।

भिमाद नगरपालिकाले तीन ज्येष्ठ नागरिकको मृत्युपश्चात् पनि भत्ता वितरण गरेको छ । भिमाद-२ का सेती आलेलाई प्रथम चौमासिकको पाँच हजार आठ सय, नहलसिं थापालाई प्रथम चौमासिकको दुई हजार आठ सय र भिमाद-६ का मनबहादुर विकलाई तेस्रो चौमासिकको तीन हजार वितरण गरिएको छ। सेतीको २०७७ असोज २, नलहसिंको कात्तिक २ र मनबहादुरको २०७८ जेठ ३० गते मृत्यु भएको थियो।

बन्दीपुर गाउँपालिकाले छ जना मृत्यु भइसकेकाका नाममा भत्ता वितरण गरेको छ। बन्दीपुर-३ का डम्बरबहादुर गुरुङलाई तेस्रो चौमासिकको चार हजार पाँच सय, बन्दीपुर-४ का नेप्टिमाया गुरुङलाई तेस्रो चौमासिकको पाँच हजार एक सय, रणबहादुर गुरुङलाई तेस्रो चौमासिकको दश हजार एक सय, चन्द्रबहादुर विकलाई तेस्रो चौमासिकको तीन हजार तीन सय, लीलादेवी अधिकारीलाई तेस्रो चौमासिकको आठ हजार चार सय मनबहादुर मगरलाई दोस्रो र तेस्रो चौमासिकको १६ हजार एक सय वितरण गरिएको छ। 

तीमध्ये डम्बरको विसं २०७८ असार १५, नेप्टिमायाको जेठ ९, रणबहादुरको २०७७ चैत १९, चन्द्रबहादुरको २०७८ जेठ २७, लीलादेवीको २०७८ वैशाख ६ र मनबहादुरको २०७७ माघ १९ गते मृत्यु भएको थियो। महालेखा परीक्षकको कार्यालयले मृत्युपश्चात् निकासा भएको भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ। 

भानु नगरपालिकाले मृत्यु भएका ११ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। भानु-१३ का दिलकुमारी श्रेष्ठको दोस्रो चौमासिक बापतको १२ हजार, काली परियारको तेस्रो चौमासिकबापतको आठ हजार, जुठी थापाको दोस्रो र तेस्रोबापतको २४ हजार, भानु-१ का हर्कबहादुर लामाको दोस्रो चौमासिकबापतको १२ हजार, भानु-१२ का हरिबहादुर क्षेत्रीको तेस्रो चौमासिकबापतको १२ हजार, राममाया अधिकारीको तेस्रो चौमासिकबापतको १२ हजार, प्रेममाया थापाको तेस्रो चौमासिकबापतको १२ हजार, विष्णुमाया गुरुङको तेस्रो चौमासिकबापतको १२ हजार, भगवती केसीको तेस्रो चौमासिकबापतको १२ हजार, भानु-४ का सुकमाया गुरुङको तेस्रो चौमासिकबापतको १२ हजार, पशुपतिनाथ ढकालको तेस्रो चौमासिक बापतको १२ हजार निकासा गरिएको छ। रासस


प्रकाशित : आइतबार, साउन १५ २०७९०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend