शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

‘उत्पादन गरेर आयात प्रतिस्थापन गरौँ’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
‘उत्पादन गरेर आयात प्रतिस्थापन गरौँ’

'आर्थिक क्षेत्रमा तरलताको समस्याले उद्योगसमेत बन्द हुने अवस्थमा पुगेका छन्, आन्तरिक उत्पादन बलियो नहुँदासम्म अर्थतन्त्र बलियो हुन सक्दैन'

काठमाडौं- देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आयात प्रतिस्थापन गर्ने व्यावहारिक नीति तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ। पछिल्ला दिनमा विदेशी मुद्राको सञ्चिति घट्नुको कारण बढ्दो आयात भएकाले त्यसलाई नियन्त्रण गर्दै आन्तरिक उत्पादनको वृद्धिमा लाग्नुपर्ने आर्थिक क्षेत्रका जानकारहरूले सुझाव दिएका छन्।

सेन्टर फर प्रोफेसनल जर्नलिजम स्टडिजले शुक्रबार आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था एक सिंहावलोकन’ विषयक अन्तर्क्रियामा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आगामी दिनमा हुनसक्ने आर्थिक सङ्कटबाट जोगिनका लागि आन्तरिक उत्पादनलाई बढवा दिनुपर्ने बताए। उनले अत्यावश्यक बाहेकका वस्तुको आयातमा रोक लगाउन सुझाव दिए। 

अर्थ मन्त्रालयका सल्लाहकार डा सुरेन्द्र उप्रेतीले विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि आयात निरुत्साहित गर्ने नीति लिएको प्रस्ट पार्दै विदेशी मुद्रा जोगाउने विषयमा सकार सचेत रहेको बताए। आयात निरुत्साहित गर्ने नीतिसँगै चालु आवको पछिल्लो ६ महिनामा विदेशी मुद्रा बाहिरिने क्रम रोकिएको उनको दाबी छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले विदेशी लगानी ल्याएर भए पनि आन्तरिक उत्पादन बढाउने र विद्युतको माग बढेअनुसार प्रशारण र वितरण लाइनमा सुधार गर्दै आन्तरिक उत्पादन बढाउने योजनामा सरकार रहेको सुनाए। उद्योगी पवन गोल्यानले आर्थिक क्षेत्रमा तरलताको समस्याले उद्योगसमेत बन्द हुने अवस्थमा पुगेको बताउँदै आन्तरिक उत्पादन बलियो नहुँदासम्म अर्थतन्त्र बलियो हुन नसक्ने धारणा राखे। 

अर्थशास्त्री डा गोविन्द नेपालले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक विकासको निम्ति लाग्न राजनीतिक दलका नेतालाई आग्रह गरे अर्थशास्त्री डा रघुवीर विष्टले सरकारले आन्तरिक उत्पादनबारे प्रस्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : शुक्रबार, असार १७ २०७९१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend