शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बिचौलियाको प्रभावमा ‘जीटूजी’बाट अन्त:शुल्क स्टिकर छाप्न स्वीकृति

शुक्रबार, असार १७ २०७९
बिचौलियाको प्रभावमा ‘जीटूजी’बाट अन्त:शुल्क स्टिकर छाप्न स्वीकृति

मन्त्रिपरिषदको बैठकले ‘जीटूजी’बाट अन्तःशुल्क स्टिकर खरिदका लागि सैद्धान्तिक सहमति दिएको हो।

काठमाडौं- स्टिकर छपाइका लागि भएको खरिद प्रक्रियाको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले सिधै खरिद गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ।

मन्त्रिपरिषदको बैठकले ‘जीटूजी’बाट अन्तःशुल्क स्टिकर खरिदका लागि सैद्धान्तिक सहमति दिएको हो। आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइका लागि भन्दै अघिल्लो वर्ष ग्लोबल टेन्डर आह्वान गरेको थियो। सोही टेन्डरमा सहभागी भएर मद्रास प्रिन्टिङको प्रस्ताव स्वीकृत गर्ने आसयको सूचना विभागले प्रकाशित गरेको थियो। 

सोही सूचना प्रकाशित भएपछि नेपाली कम्पनी मिराज प्रिन्टिङ सोलुसन्सका सञ्चालक मनोहर घिमिरेले अदालतमा रिट दिएका थिए। सोही रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। ग्लोबल टेन्डरबाट छनौट भएको कम्पनीसँगको सम्झौताको काम अघि नबढाउन अदालतले आदेश दिएसँगै स्टिकल छपाइको प्रक्रिया अघि बढ्न सकेको थिएन। यो विषय अहिले पनि अदालतमा बिचाराधिन नै छ। तर सरकारले बिचौलियाको प्रभावमा ‘जीटूजी’बाट अन्तःशुल्क स्टिकर खरिदका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो।

अर्थ मन्त्रालय निकट स्रोतका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्णय गुपचुप राख्दै भित्रभित्रै प्रक्रिया अघि बढाइएको थियो। अन्तत सहमति नै दिइएको छ।

‘जी टु जी प्रक्रियाबाट कम्पनी छनौट गर्नका लागि पहिला सम्बन्धित देशहरुमा कोटेसनका लागि पत्राचार गरिन्छ। यसका लागि हल्लाखल्ला कतैबाट हुँदै। त्यसैले पहिले नै भित्रभित्रै त्यसैको तयारी भएको थियो,’ मन्त्रालय निकट स्रोतले भन्यो। 

छपाइ गर्ने कम्पनी छनौटको काम गर्ने आन्तरिक राजस्व विभागलाई स्पेसिफिकेसन तथा डकुमेन्ट बनाउनका लागि गोप्य सर्कुलर भइसकेका मन्त्रालय निकट स्रोतको भनाइ छ। यस बारेमा विभागका महानिर्देशक तथा प्रवक्ताले भने स्टिकर छपाइको प्रक्रिया विवाद अदालतमा विचाराधीन रहेकाले बोल्न नमिल्ने प्रतिक्रिया  आएका थिए। 

१ अर्बमा हुने खरिदका लागि ३ अर्बको स्वीकृति 

स्रोतका अनुसार ३ अर्ब खर्च हुनेगरी खपाइ कम्पनी खोज्नका लागि सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषदबाट दिइएको छ।  अदालतमा विचाराधीन विषय ओभरटेक गर्नमात्र खोजिएको छैन, आर्थिक घोटालाको गम्भीर योजना पनि बनिरहेको छ। खुला प्रतिस्पर्धाबाट छानिएको कम्पनी मद्रास प्रिन्टिङले प्रति स्टिकर १५ पैसामा छाप्ने प्रस्ताव गरेको थियो। आन्तरिक राजस्व विभागका अनुसार त्यो  रकम पनि नेगोसिएसनमा जाँदा अझै घट्नसक्छ।

‘अदालतले बाटो खुला गरिदिने वित्तिकै विभागले मद्राससँग नेगोसिएसनमा जाँदा त्यो रकम अझै घट्नसक्छ’ विभागका एक पूर्वउपमहानिर्देशकले भने। 

तर जीटूजीमा जाँदा प्रतिस्पर्धी मूल्य आउँदैन। त्यसैले तीन वर्षका लागि पुग्ने स्टिकल छाप्नका लागि ३ अर्ब नै खर्च गर्ने अख्तियारीको निर्णय गराइएको छ। जबकी यति नै मात्राको छपाइका लागि १ अर्ब खर्च हुने अवस्था थियो। 

सैद्धान्तिक सहमतिमात्र होइन जिटूजी खरिद प्रक्रियामा बिचौलियाकोसमेत प्रवेस भइसकेको छ। यो प्रक्रियाका योजनाकारहरूमा दीपक भट्ट, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल लगायतका व्यक्तिहरू छन्। 

बिकल पौडेलले यसअघि सेक्युरिटी प्रेस खरिद प्रकणमा पनि जोडिएका थिए। गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो प्रकरणमा पौडेल पनि मुछिएका थिए। 

बिचौलियाकै योजनामा स्टिकर छपाइको खरिद गर्ने योजना बनेको हो। ‘अदालतबाट हुने आदेश आफ्नै फेभरमा हुने विश्वासमा खरिद प्रक्रिया अघि बढाउने काम भइरहेको छ’ यो विषयमा जानकार एक उच्च सरकारी अधिकारीले भने। 

जीटूजी प्रक्रियामा जाँदा बिचौलिया निकट कम्पनी भएका देशमा मात्र कोटेशन पठाउने तयारी भइरहेको छ। अहिलेका लागि फ्रान्स, जर्मनी तथा स्विट्जरल्यान्डमामात्र पत्राचार गर्ने तयारी भइरहेको छ। 

प्रतिस्पर्धाबाट छनौट हुने कम्पनीबाट छाप्दा हुनेभन्दा २ अर्ब बढी खर्चिनेगरी योजना अघि बढेको छ। सोझै २ अर्बको अनियमितता हुनेगरी काम गर्ने तयारीमा सरकार रहेको छ। 


प्रकाशित : शुक्रबार, असार १७ २०७९०९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend