मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पहिलोपटक शुक्रबारको कारोबारमा बढ्यो सेयर बजार, के होला आगामी साता?

शुक्रबार, असार १० २०७९
पहिलोपटक शुक्रबारको कारोबारमा बढ्यो सेयर बजार, के होला आगामी साता?

काठमाडौं- सेयर बजारमा गएको महिनाभर 'नफापेको' शुक्रबारे कारोबार यो महिनाको दोस्रो शुक्रबारे कारोबारमा भने वृद्धि देखिएको छ। बिहीबार ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा झरेको बजार शुक्रबार १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। 

सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सुरु भएको सेयर कारोबार लगानीकर्ताका लागि सुखद भने हुन सकेको छैन। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालिएको हो। तर हरेक शुक्रबार घटिरहेको सेयर बजारमा कारोबार रकमसमेत शुक्रबार अरू दिनको तुलनामा निकै कम देखिएको छ। शुक्रबारको सेयर कारोबारमा लगानीकर्ता निस्क्रिय जस्तो देखिएका छन्। 

कुन शुक्रबार बजार कस्तो?

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको ६ कारोबारमा एक दिनमात्र बजार बढेको हो। जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो। जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

यसअघि जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। असार ३ गते शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको थियो। जहाँ ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। बजारमा घट्ने क्रममा देखिएको अवस्था 'ब्रेक' हुने आधार भने अझै देखिएको छैन।

बजार अब कता?

सेयर बजार २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। त्यसयता लगातार उतारचढाव हुँदै घटिरहेको बजार अहिले ६ वर्षअघिको बुलभन्दा पनि तल झरेको छ। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। अब आउने मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताका लागि राष्ट्र बैंकको तयारीले सकारात्मक संकेत दिइरहेको छैन।

आज शुक्रबारको बजारमा वृद्धि देखिए पनि बियरिस हुँदै तल झरिरहेको बजार क्रयास हुने अवस्थामा देखिएको कतिपय विश्लेषकहरूको भनाइ छ। 

सेयर बजार बियरिसबाट ‘क्रयास’तर्फ, विश्लेषक भन्छन् - गम्भीर संकट देखियो सेयर बजार बियरिसबाट ‘क्रयास’तर्फ, विश्लेषक भन्छन् - गम्भीर संकट देखियो


प्रकाशित : शुक्रबार, असार १० २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend