काठमाडौं- नेप्से परिसूचक २०७३ साउनमा त्यस समयको उच्च बिन्दु १८८१.४५ मा पुगेपछि बजारले बियरिस ट्रेन्ड समातेको थियो। ओरालो लागेको बजार २०७६ मंसिर १० गते ११०२.४७ अंकसम्म झरेको थियो।
यसअघिका अनुभवले बियरिस ट्रेन्ड समाप्त भएपछि बजार केही समय स्थिर भएरमात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ, जुन अंग्रेजी वर्णमालाको ‘यू’ आकारमा अघि बढ्ने गरेको छ। २०५२ मा उच्चतम बिन्दुमा पुगेर सुरु भएको बियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म र २०६५ को २०६८ सम्म चलेको थियो।
२०७७ साल साउन २ मा राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरी एउटै सेयरको धितोमा पहिलेभन्दा ७-८ प्रतिशत बढी ऋण दिन बाटो खोलिदिएको थियो। कोरोनाकालमा बैंकमा थुप्रिएको पैसा सेयर बजारमा जाने बाटो खुला भएको थियो। दुई वर्ष अगाडिको नीतिले अधिकांश क्षेत्रमा बैंकको ऋण खासै बढ्न नसकेका बेला सेयरको धितोमा ऋण लगानी बढेको थियो। सेयरको धितोमा दिइने मार्जिन कर्जामा बैंकको लगानी २०७६ को भन्दा झन्डै ३५ प्रतिशत बढेको थियो।
बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी केन्द्रित गरेपछि सेयर बजार त बढेको छ। तर, वित्तीय स्थायित्व जोखिमपूर्ण हुँदै गएको बैंकरहरूको निस्कर्ष थियो। ०६५ सालअघि घरजग्गामा लगानी गरेजस्तै गएको बुलमा कतिपय फाइनान्स कम्पनीले सेयरमै मात्र धेरै लगानी गरेका थिए। ठूला र वित्तीय संस्था साथै बलियो भनिएका बैंक पनि सेयरमा लगानी गरेर पैसा कमाउने हुलमा मिसिए। यसले जानअञ्जानमा लगानी गर्ने सोझासिधा लगानीकर्ताको सम्पत्ति अझै बढी जोखिममा धकेलिरहेको थियो। अहिलेको आन्दोलन त्यसैको परिणाम हो। जहाँ ५२ लाख लगानीकर्ता भनिएपछि दोस्रो बजारमा करिब १६ लाख र सक्रिय लगानीकर्ता ७ लाख हाराहारी रहेका छन्।
सोही मौद्रिक नीतिमार्फत खुकुलो नीतिसँगै सेयर बजार उकालो यात्रामा लाग्न सुरु गरेको थियो। ११०० बाट विस्तारै बढ्दै गएको सेयर बजार २०७७ माघ २५ गते १३८६ अंकमा थियो। सोही वृद्धिक्रम २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। यो नेप्सेको हालसम्मकै उच्चतम बिन्दु हो।
सेयर बजार उच्च अंकमा जाँदा धेरै पैसा एकैपटक कमाउने र बिलासी वस्तु आयात बढ्न थाल्यो। सेयर बजारको पैसा घरजग्गा, गाडी र विदेश घुमफिरमा गएपछि असर डलर सञ्चितिमा पर्न थल्यो। सोही कारण गत वर्ष साउनमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै ४/१२ को नीति लिने निर्णय गरेको थियो।
अनियन्त्रित सेयर बजारको उछाललाई नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने मुख्य हतियारको रुपमा मौद्रिक नीतिलाई उपयोग गरेको थियो। यसअघि कोरोना महामारीमा पुँजी बजारलाई उकास्न राष्ट्र बैंक नीतिगत रूपमा लचक बनेको थियो। तर कोरोना महामारी नियन्त्रण भएर आर्थिक गतिविधि बढ्न थालेपछि राष्ट्र बैंकले सेयर धितो कर्जा नियन्त्रणको नीति लिएको थियो।
राष्ट्र बैंककै नीतिले बढाएको सेयर बजार राष्ट्र बैंककै नीतिले पुनः घट्न थालेको थियो। उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार अघिल्लो बुलको उच्च बिन्दु १८८१ भन्दा पनि तल झरेको छ। सेयर बजार बिहीबार ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ।
सेयर बजार २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ देखियता लगातार उतारचढाव हुँदै घटिरहेको देखिन्छ। बजार अहिले ६ वर्षअघिको बुलभन्दा पनि तल झरेको हो।
‘अहिलेको सेयर बजार यति घट्नु भनेको कल्पनाभन्दा बहिरको हो, घट्नु नै नपर्ने थियो,’ सेयर विश्लेषक छोटेलाल रौनियारले भने।
नेपाल राष्ट्र बैंकदेखि अरू नियामकसम्मले चासो नदिँदा बजार घटिरहेको रौनियारले बताए। ‘धितोपत्र बोर्डले पनि गर्छु भनेको काम गरेको छैन, आन्दोलन समेत भइरहेको छ,’ रौनियारले भने। बजार अब कति सम्म झर्छ भन्ने कुरा केही दिनको परिदृष्यले देखाउने समेत उनले बताए। सेयर बजार बियरिस हुँदै क्रयास भएकोले गम्भीर संकट आउने संकेत देखिएको भन्दै उनले नियामकले चासो दिनुपर्ने बताए।
२०७८ भदौ २ को उच्च बिन्दुदेखि अहिलेसम्म बजारमा १२ सय ६५ अंकको गिरावट आइसकेको छ। गत भदौको उच्च बिन्दुको बुल एकवर्ष पनि टिक्न सकेन। पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे संसदमा समेत बारम्बार कुरा उठिरहेको छ। अनसन बस्नेदेखि अन्य आन्दोलनका कार्यक्रमसमेत भइरहेका छन्। तर विश्लेषकहरूका अनुसार बजारको अवस्था अनसन र आन्दोलनले भन्दा पनि अन्य गतिविधि र नियामकीय नीतिमा निर्भर हुने गर्दछ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी घटेको भन्दै त्यसमा आउने मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने माग संगठित लगानीकर्ताहरूले गरिरहेका छन्। तर राष्ट्र बैंक अहिले पनि सेयर बजारलाई खुकुलो गर्ने पक्षमा देखिँदैन। खुकुलो गर्नेवित्तिकै सेयर बजारमार्फत अन्यत्र पैसा जाने र डलर सञ्चितिमै हिट गर्ने राष्ट्र बैंकको बुझाइ छ।
बैंकमा निक्षेपको अभावले पनि दबाब नै भएकोले अहिले नै सेयर बजार पुनः बढ्ने र उच्च अंकमा जाने देखिँदैन। विगतको चक्रलाई हेर्ने हो भने पनि अब २०८१ भन्दा अगाडि अर्काे उच्च बिन्दुमा जाने देखिँदैन। तर अहिलेको अवस्थामा न त बुलमा त्यो समयको चक्र मिलेको देखियो, न त बियरिस उही सुत्रमा मिलेकै छ। समग्रमा बजारको अवस्था विगतको अनुमानभन्दा बाहिर देखिन्छ।