काठमाडौं- स्प्रिङ सिजन २०२२ का लागि नेपालका २३ वटा हिमाल आरोहणको लागि २२ अप्रिलसम्म ८ सय ४४ जना नेपाली तथा विदेशीले हिमाल आरोहण अनुमति पाएका छन्।
पर्यटन विभागका अनुसार २३ वटा हिमाल आरोहणका लागि १ सय ४ टिमका ८ सय ४४ जनाले अनुमति लिएका हुन्। हिमाल आरोहणका लागि अनुमति लिनेमा महिला आरोहीको संख्या १ सय ८६ रहेको छ भने पुरुष आरोहीको संख्या ६ सय ५८ जना रहेको छ।
जसमा सबैभन्दा बढी सगरमाथ आरोहणका लागि ३७ टीमले अनुमति लिएका छन्। ३७ टीमबाट सगरमाथ आरोहणका लागि ३ सय २ जनाले अनुमति लिएका छन्।
सगरमाथा आरोहणका लागि अनुमति लिने मध्ये ७२ जना महिला आरोही र २ सय ३० जना पुरुष आरोही छन्। सगरमाथा आरोहणका लागि अनुमति लिनेसँग मात्रै विभागले ३७ करोड ८० लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ।
यसैगरी दोस्रो बढी ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिएका छन्। ल्होत्से हिमाल आरोहणका लागि ११ टीमबाट ८१ जना पुरुष र २२ जना महिला गरी १ सय ३ जनाले हिमाल आरोहणको अनुमति लिएका छन्।
स्प्रिङ सिजनका हिमाल आरोहणका लागि अनुमति दिँदै विभागले ४४ करोड ६४ हजार रुपैयाँभन्दा बढी रोयल्टी समेत संकलन गरेको छ।
२३ हिमाल आरोहणका लागि अनुमति लिनेको विवरण
कुन हिमाल आरोहण अनुमति रोयल्टी कति?
हिमाल आरोहणको अनुमति दिँदा विभागले हिमाले उचाईअनुसार रोयल्टी रकम संकलन गर्दै आएको छ। हिमाल अरोहण रोयल्टी रकम सिजनअनुसार पनि फरक फरक रहेको छ।
स्प्रिङ सिजनको लागि सगरमाथा (नरमल रुटबाट) आरोहण गर्ने विदेशी नागरिकले विभागलाई ११ हजार डलर र अन्य रुटबाट आरोहण गर्नेसँग रोयल्टी वापत १० हजार डलर लिन्छ। नेपाली आरोहीलाई भने विभागले ७५ हजार रुपैयाँँ (नरम रुट) र अन्य रुटको हकमा ६० हजार रुपैयाँ लिन्छ।
यसैगरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणमा विदेशीलाई १८ सय डलर र नेपालीलाई १० हजार रुपैयाँ रोयल्टी लाग्छ।
कुन देशका कति?
स्प्रिङ सिजनमा नेपालको विभिन्न २३ वटा हिमाल आरोहणका लागि अनुमति लिने ८ सय ४४ जना नागरिक ७३ देशका रहेका छन्।
जसमा सबैभन्दा बढी अमेरिकी नागरिक रहेका छन्। १ सय २ जना अमेरिकी नागरिकले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन्। दोस्रोमा भारतका ५८ जना र तस्रोमा नेपालमा ५२ जना रहेको छन्।