काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिने कम्पनी छनोट प्रतिस्पर्धाबाट गर्ने भएको छ।
चैत ३० गते मन्त्रिपरिषदबाट स्वीकृत भएको विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन स्वदेशी तथा विदेशी कम्पनीहरुबाट प्रतिस्पर्धा गराएर कम्पनी छनोट गर्ने विषय समावेश भएको छ।
प्राधिकरणले अहिले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको जिम्मा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई दिएको छ।
यसैगरी जेठ २ गतेबाट सञ्चालनको तयारी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गर्ने भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम पनि नेपाल एयरलाइन्सले नै गर्ने गरी जिम्मा पाइसकेको छ।
तर नेपाल एयरलाइन्सको ग्राउन्डह्यान्डलिङ सेवालाई लिएर सधै विरोध भइरहेको छ। नेपाल एयरलाइन्सले आम्दानीको मुख्य स्रोत ग्राउन्ड ह्यान्डलिङ बनाए पनि समय सापेक्षिक आधुनिक प्रविधिको प्रयोग गरेर ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरेको छैनन्।
नेपाल एयरलाइन्स माथि भने बारम्बार ब्यागेज हराउने गरेको आरोप समेत लाग्दै आएको थियो। ग्राउन्ड ह्यान्डलिङ सेवालाई लिएर प्रश्न उठिरहेको बेला प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सर्भिसका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने कानूनी व्यवस्था गरेको हो।
प्राधिकरणबाट जारी भएको नियमावलीको नियम ५ मा भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ) शुल्कको विषय समावेश गरिएको छ।
सोही नियमको उपनियम १ मा प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरूका लागि भूमिस्थ प्रबन्ध सेवा उपलब्ध गराए वापत भूमिस्थ प्रबन्ध सेवा शुल्क लगाउने व्यवस्था गरेको छ।
साथै नियमावलीमा सेवा शुल्क लगाउने प्रयोजनको लागि भूमिस्थ प्रबन्ध सेवा सञ्चालन गर्ने विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबीच प्रतिस्पर्धा गराइ छनौट भएको संस्थालाई त्यस्तो सेवा उपलब्ध गराउन अनुमति दिने विषय समावेश गरिएको छ।
तर प्रतिस्पर्धाबाट समयमै संस्था छनौट गर्न नसकी सेवा प्रवाहमा अवरोध हुने अवस्था देखिएमा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिमा नेपाल सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको संस्थालाई वार्ताद्वारा तोकिएको अवधिसम्मको लागि भूमिस्थ सेवा सञ्चालनको अनुमति दिन सकिने विषय समावेश गरिएको छ।
अहिले नेपाल एयरलाइन्सले विना प्रतिस्पर्धा विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएर सेवा दिँदै आएको छ।
विमानस्थल सेवा शुल्क नियमावली २०७८ प्रारम्भ हुँदाका बखत कुनै विमानस्थलमा नेपाल सरकारको स्वामित्व भएको संस्थाले भूमिस्थ प्रबन्ध सेवा प्रदान गरिरहेको भएमा प्राधिकरणले तोकेको सर्तमा त्यस्तो संस्थाको सेवालाई निरन्तरता दिन सक्ने विषय पनि नियमावलीमा समावेश गरिएको छ।
नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा सुधार योजना तुहियो
नेपाल एयरलाइन्सले सेवा दिँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवाको विषयमा बारम्बार प्रश्न उठेपछि तत्कालिनम निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि २७ अर्बको लगानी गर्ने योजना बनाएका थिए।
तर योजना कार्यान्वयन गर्न नपाउँदै संस्कृति, पर्यटन तथा नागरिुक उड्डयन मन्त्री प्रेम आलेले उनलाई महाप्रबन्धको काम गर्ने अधिकारबाट हटाउँदै कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै यो योजना कार्यान्वयनमा आउन नसकेको हो।
पौडेले १० वर्षमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सवा २७ अर्ब रुपैयाँ लगानी योजना बनाएको थिए। यो योजना अहिले अधिकारीले दराजमै थन्काएर राखेको छन्। तर ग्राउन्ड ह्यान्डलिङ सेवा सुधारमा कुनै काम गरेका छैनन्। बरु मन्त्री आलेको निर्देशनमा ग्राउन्ड ह्यान्डलिङ सेवामा अनुभव नभएको पार्टीका कार्यकर्ता भर्ति गरिरहेका छन्।
पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएका थिए।
यसैगरी पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने गरी योजना अगाडि सारेको थिए। तर यो योजना अहिले अधिकारीले रद्द गरिसकेको निगम स्रोतको दाबी छ।