बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सेयर बजार बढ्दा पनि नबिलको सेयर मूल्य घट्ने क्रम रोकिएन, लगानीकर्ताले गुमाए प्रतिकित्ता ८०५ रुपैयाँ

शुक्रबार, वैशाख ९ २०७९
सेयर बजार बढ्दा पनि नबिलको सेयर मूल्य घट्ने क्रम रोकिएन, लगानीकर्ताले गुमाए प्रतिकित्ता ८०५ रुपैयाँ

काठमाडौं- साताको अन्तिमदिन बिहीबारको काराेकारमा समग्रमा नेप्से परिसूचक सकारात्मक हुँदा पनि नबिल बैंकको सेयर मूल्य घट्ने क्रम रोकिएको छैन। सेयर मूल्य एक वर्षयताकै सस्तो हुँदा पनि सेयर खरिद गर्नेभन्दा बिक्री गर्नेकै चाप बढेको छ। बैंकको बिहीबार पनि प्रतिकित्ता ५ रुपैयाँले घटेर अन्तिम कारोबार ९३५ रुपैयाँमा भएको छ। 

बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो। उच्च बिन्दुबाट बजार घट्न थालेपछि लगानीकर्ताले प्रतिकित्ता ८०५ रुपैयाँ गुमाइसकेका छन्। १७४० रुपैयाँमा खरिद गरेका लगानीकर्ताका लागि साँवा उठाउन मुस्किल हुने अवस्था देखिएको छ। बैंकको नाफा पनि घटेको र प्रतिसेयर आम्दानी समेत घटेको छ। यसको असर सेयर बजारमा समेत देखिएको छ। बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ।

नबिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत वर्षको तुलनामा नाफा घटेको छ। सेयर मूल्य पनि घटिरहेका बेला नाफा गत वर्षको तुलनामा ८.९१ प्रतिशतले घटेको हो। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०१:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend