मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

चैतबाट बैशाखमा सर्‍यो मेलम्चीको भाका

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २९ २०७८
चैतबाट बैशाखमा सर्‍यो मेलम्चीको भाका

यसअघि सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो।

सिन्धुपाल्चोक- यही चैतसम्म काठमाडौंका धारामा ल्याउने भनिएको मेलम्चीको पानी चैतभित्र ल्याउन असम्भव भएपछि बैशाखसम्म ल्याइपुर्‍याइने योजनाअनुसार काम भइरहेको छ। 

यसअघि चैतसम्म काठमाडौंको धारामा मेलम्चीको पानी पुग्ने बताउने गरेका खानेपानीमन्त्री उमाकान्त चौधरीले अहिले भने आउँदो वैशाखसम्ममा पानी पुग्ने बताएका छन्। 

मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले बैशाखसम्ममा पानी पुर्‍याउने बताएका हुन्। मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए।

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौंमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो।

परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो। त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो। सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए।  

सो अवसरमा उनले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गरे। मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए। कार्यक्रममा उनले सन्तनेता स्वर्गीय कुष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण पनि गरे।

हेलम्बु गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पाले यहाँका बाढीपीडितको समस्या समाधानका लागि मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घीय सरकारको ध्यानाकर्षण गराए। उनले ११ बुँदे ज्ञापनपत्र बुझाउँदै हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख रुपैयाँ तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गरे। रासस
 
 मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड बापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि पनि ठोस पहल गर्न उनले सरकारसँग आग्रह गर्नुभयो ।  

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पालगायतको उपस्थिति थियो ।


प्रकाशित : मंगलबार, चैत २९ २०७८११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend