मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

२ खर्ब ५८ अर्ब पुग्यो शोधनान्तर घाटा, मूल्यवृद्धि ७.१४ प्रतिशत 

मंगलबार, चैत २९ २०७८
२ खर्ब ५८ अर्ब पुग्यो शोधनान्तर घाटा, मूल्यवृद्धि ७.१४ प्रतिशत 

यो अवधिमा मूल्यवृद्धिदर भने ७.१४ प्रतिशत पुगेको छ। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको सुरुदेखि नै खराब हुँदै गएका अर्थतन्त्रका बाह्य सूचकमा कुनै सुधार देखिएको छैन। 

आठ महिनासम्मको तथ्यांकअनुसार अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था निरन्तर नाजुक रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार खराब सूचकले निरन्तरता पाएका छन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्स घट्ने क्रम जारी छ। आठ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा नेपाली रूपैयाँमा १.७ प्रतिशतले घटेको छ तर अमेरिकी डलरमा भने ३ प्रतिशतले घटेको छ।  

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँतिहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। फागुनसम्म लगातार रेमिट्यान्समा ह्रास देखिएको छ। यद्यपि फागुनमा आएर घट्ने दरमा केही ब्रेक लागेको छ। 

आठ महिनाको तथ्यांकअनुसार ४ खर्ब ६२ अर्ब ९३ करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता १ खर्ब ५१ अर्बले घाटामा थियो। 

शोधनान्तर (नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा २ खर्ब ५८ अर्ब ६४ करोड पुगेको छ। यसअघि प्रत्येक महिना यस्तो घाटामा ठूलो वृद्धिदर थियो। प्रत्येक महिना ठूलो अन्तरले घाटा बढिरहेको थियो। माघमा आएर घाटाको अन्तर भने साँघुरिएको थियो। पुसमा ४६ अर्बले घटा बढेको थियो। माघमा आएर त्यस्तो घाटा जम्मा ६ अर्बले विस्तार भएकोमा फागुनमा ११ अर्बले बढेको छ।  

आयातको वृद्धिदर थामिएको, वैदेशिक ऋण तथा अनुदान बापतको रकम पनि केही भित्रिएको प्रभाव शोधनान्तरमा देखिएको  हो। माघमै नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत ऋण सुविधा अन्तर्गत ११ अर्ब भित्रिएको थियो। 

अत्यावश्यक वस्तुबाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। पछिल्लो समय मौखिक निर्देशनकै भरमा विलासी वस्तुका लागि एलसी नखोल्ने बैंकहरुले निर्णय गरेका छन्। 

यसअघि राष्ट्र बैंकले लिएको नगद मार्जिनको प्रभाव भने न्यून परेको छ। यद्यपि शोधनान्तर घाटाको वृद्धिदर साँघुरिएको, विदेशी मुद्राको सञ्चितिबाट बाहिरिने डलरमा कमी आएका जस्ता प्रभाव केन्द्रीय बैंककै नीतिको प्रभाव रहेको अधिकारीहरूको दाबी छ। 

यो अवधिमा मूल्यवृद्धिदर भने ७.१४ प्रतिशत पुगेको छ। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend