बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीले बगाएको परिचय : बाँकी रहेका केही अंक

को हुन् मृत भेटिएका? कहाँ छन् हराइरहेकाहरू?

बुधबार, भदौ १७ २०८३
बाढीले बगाएको परिचय : बाँकी रहेका केही अंक

उजाडिएका बस्ती र मौन बनेको समयले सामूहिक शोकको एउटा यस्तो मोडमा उभ्याएको छ जहाँ हराएका आफ्नासँगै आफ्नो पनि परिचय खोज्नुपर्ने भएको छ।

काठमाडौं- बाढीले खेत बगायो। सडक बगायो। पुल बगायो। घर बगायो। बगायो सयौँ मानिस। मृत भेटिए सयौँ। सम्पर्कविहीन छन् हजारौँ।

गएको बुधबार बिहान हिम चट्टानसहित पहिरो झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा पुग्दा सयौँ बस्ती उजाड बन्यो। मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम चलिरहँदा त्यो त्रासदी अंकहरूमा हराउन थालेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार संसदमा बोल्दै संकटको घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको बताए। उनले मन भक्कानिदा पनि एकआपसमा बिलौना गर्ने समय झनै नभएको सुनाए। प्रधानमन्त्रीले उद्धार, मृत्यु र सम्पर्कविहीन नागरिकको तथ्यांक प्रस्तुत गरिरहँदा आठौँ दिनसम्म अवस्था थप भयावह देखिएको छ।

बाढी आएको आठौँ दिन बुधबार बिहानसम्म मृत्यु हुनेको गणना १ हजार १ सय १४ पुगेको छ। चितवनमा सबैभन्दा बढी ३ सय ४८ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९०, नुवाकोटमा १ सय ५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ शव फेला परेको छ।

प्रहरीले विवरण सार्वजनिक गर्दै १ हजार १ सय १३ शवको पोस्टमार्टम तथा कानूनी प्रक्रिया पूरा भएको जनाएको छ। तर तीमध्ये ९५ शव मात्रै आफन्तलाई बुझाउन सकिएको छ। बाँकी ठूलो संख्या पहिचान र आफन्त खोजीको प्रक्रियामा छ।

विपदका यी अंकहरूमा कसैको सम्पूर्ण संसार छ। प्रत्येक अंकको पछाडि एउटा मानिस छ। घर छ। सम्बन्ध छ। एउटा अधुरो कथा छ।

वर्षौँसम्म माया र स्नेहले बोलाइने नामहरू आज सरकारी ढड्डामा 'अपरिचित लास नम्बर' मा बदलिँदा मानवीय संवेदना र पहिचानमाथि परेको यो जस्तो ठूलो मानसिक र भावनात्मक वज्रपात अर्को केही हुन सक्दैन।

प्रधानमन्त्री शाहले आफ्ना सपनाहरू बुनिरहेका नानीबाबुहरू, हाँसोखुसीका साथ बसिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताए। आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकहरूको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गर्दै उनले भने, 'यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ।'

Sunmaya Tamang.jpg
बाढीमा बेपत्ता आफन्तको खबरको पर्खाइमा नुवाकोटमा आर्मी क्याम्पबाहिर सुनमाया तामाङ। तस्बिर - राजेश कुमार सिंह/एपी

प्रधानमन्त्रीले संसदमा पेस गरेकै तथ्यांक हेर्दा ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुने स्थानीय बासिन्दासहित सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू छन्।

उद्धार कार्यका लागि २१ हजार ३ सय १४ सुरक्षाकर्मी परिचालन गरिएको सरकारी भनाइ छ। जसमा नेपाली सेनाका ९ हजार १ सय ९९, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्। नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ। यस्तै ३ हजार ४ सय ५३ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा राखिएको छ।

विपदको यो भयावहमा भेटिएर दु:खमा भएकाहरूसँगै मृत्युको पनि पहिचान हराउँदाको पीडा असह्य छ। बाढीले बगाएर ल्याएका कतिपय शव सयौँ किलोमिटर तल भेटिएका छन्। कतिपय माटो र ढुंगाले पुरिएका। कतिपयको शरीर क्षतविक्षत। धेरै त अनुहारबाट मानिस चिन्न सकिने अवस्था छैन।

अहिले एउटा परिवारले आफ्ना हराएको मानिस खोज्दा केवल नाम र फोटोले पुग्दैन। प्रहरीको वेबसाइटमा राखिएका शवका विवरण हेर्नुपर्छ। कपडा र शरीरमा भएका चिन्ह मिलाउनुपर्छ। डीएनए नमुना दिनुपर्छ।

उजाडिएका बस्ती र मौन बनेको समयले सामूहिक शोकको एउटा यस्तो मोडमा उभ्याएको छ जहाँ हराएका आफ्नासँगै आफ्नो पनि परिचय खोज्नुपर्ने भएको छ।

त्यो पीडा कति कठोर छ भन्ने बुझ्न ती शवका तस्बिर र विवरण हेरे पुग्छ। त्यहाँ कतै नाम छैन, कतै ठेगाना छैन। कतै केवल अनुमानित उमेर छ, कतै लिङ्ग छ, कतै भेटिएको ठाउँ र मितिमात्र छ।

नेपाल प्रहरीको पहिचान नखुलेका शवसम्बन्धी अभिलेखमा ट्याटु, विशेष चिन्ह तथा अनुहार चिन्न सकिने शवहरूको मात्र विवरण एकातिर छ भने अर्कातिर पहिचान नखुलेका सम्पूर्ण शवहरुको विवरण छ।

बाढीअघि परिवार थियो। नाम थियो। अहिले दर्ता नम्बरमा परिचय अडिएका ती मृत शरीर कसको हो यकिन छैन। आफन्तले आएर ‘यो मेरो मान्छे हो’ भन्न सक्ने अवस्था छैन। उसको शरीर कुनै अस्पतालको शवगृहमा, कुनै अस्थायी केन्द्रमा वा जंगलको एउटा कुनामा राखिएको हुन सक्छ। कोही आउला भनेर कतै अझै कुरिरहेको पनि हुन सक्छ।

sab.jpg
पहिचान नभएका शव गाडिएको ठाउँमा राखिने संकेत अंक।

एकदेखि अर्को अस्पताल कुदिरहेका आफन्तहरू हराएका आफ्नाहरूको खबर लिन आतुर छन्। लास भेटियो भन्ने खबरले परिवारलाई कम्तीमा मृत्युको निश्चितता दिनुपर्ने हो। तर यहाँ लास भेटिएर पनि पहिचान नखुल्दा अर्को प्रतीक्षा सुरु भएको छ ‘बीकेडी ३५' लेखिएको कतै मेरो मान्छे त होइन?

शवगृह भरिएर कुहिने जोखिम बढेपछि पहिचानका लागि डीएनए, फोटो र अन्य विवरण सुरक्षित राखेर केही शवलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको सरकारको भनाइ छ। प्रहरीले पहिचान नखुलेका प्रत्येक शवलाई संकेत नम्बर दिएर फोटो, हुलिया, कपडा, पहिचानजन्य चिन्ह र डीएनए नमुना सुरक्षित राखिरहेको जनाएको छ।

जमिनमुनि गाडिएका ती लासमाथि राखिएका साना गमलाहरू सामान्य गमला होइनन्। प्रत्येक गमलाले एउटा मानिसको परिचय ओगटेको छ। एउटा नम्बर छ। कसैको छोरा, कसैको श्रीमान्, कसैकी आमा, कसैको बुबा, कसैको दाइ वा बहिनी।

मृत्युपछि परिवारले अन्तिमपटक अनुहार हेर्न चाहन्छ। आफ्नो मान्छेको नाम लिएर रुन चाहन्छ। शरीरमा काँध दिन चाहन्छ। आफ्नै संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न चाहन्छ। तर बाढीले त्यो सामान्य मानवीय क्रमसमेत उल्टाइदिएको छ। बाढीले घर, पुल, सडक र सम्पत्तिमात्र होइन धेरै परिवारसँग आफ्ना मानिसको अन्तिम बिदाइको अधिकारसमेत खोसिदिएको छ।

अहिले बाढीको पानी घटिसकेको छ। नदी बाढीका डोबहरूमा बगिरहेको छ। सडकमा जमेको हिलो हट्दैछ। उद्धार टोलीहरू अझै माटो र भग्नावशेष खोतलिरहेका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र भएको भनिएकाहरूलाई उद्धार गर्न सकिन्छ कि भन्ने प्रयास कायम छ।

अर्कोतिर सरकारले कामभन्दा कन्टेन्ट क्रिएसनमा ध्यान दिएको भन्दै आलोचना पनि भइरहेको छ। सरकार परिणाम दिनभन्दा प्रचारमा लागेको आरोप लागिरहेको छ।

बुधबार संसदमा प्रतीपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्‍देम्बेले विपतमा सरकारको साथमा रहनुको अर्थ सरकारको सबै कामको जयजयकार गर्नु नरहेको बताए। सरकार समाजिक सञ्जालमा अल्झिए जोखिम समुदायमा समयमा पुग्न नसकेको बताउँदै उनले भने  'बाढीले सम्पत्तिमात्रै होइन परिवार आफन्त सबै तहसनहस बनाएको छ, उपायहीन बनाएको छ। यस्तोमा सरकारले कामभन्दा बढी प्रचारमा ध्यान दिइरहेको छ।' 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत सरकारले बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। कोषमा बुधबारसम्म ७ अर्ब ८८ लाख ५७ हजार २ सय १७ रुपैयाँ जम्मा भएको छ। त्यो रकमको अंक पनि पीडामा परेका नागरिकका लागि फगत अंकमात्रै बनिरहेको छ।

हराएकाहरू भेटिने आशमा रहेका हजारौँ परिवारका लागि बाढी अझै रोकिएको छैन। फोन बज्छ कि भनेर हेर्दै प्रतीक्षामा छन्। प्रहरीको खबर आउँछ कि भनेर कुर्दै छन्। कुनै मृत शरीरमा आफ्नो मान्छेको अनुहार भेटिन्छ कि भनेर खोज्दै छन्। उद्धार गरिरहेकाहरूले भेटियो भन्छन् कि भन्ने प्रतीक्षा लामो भइरहेको छ।

'बाढी आएको आठौँ दिन भयो, खोइ हाम्रा मान्छे? खोइ मेरो दाइ?' 'बाढी आएको आठौँ दिन भयो, खोइ हाम्रा मान्छे? खोइ मेरो दाइ?'

सात दिन भयो पर्खिएको, छोरा फर्किन्छ भन्ने आशमा रोकिएको रामचन्द्र र राजमतीको आँसु सात दिन भयो पर्खिएको, छोरा फर्किन्छ भन्ने आशमा रोकिएको रामचन्द्र र राजमतीको आँसु

‘सास बचाउन नसके पनि कम्तीमा लास खोजिदेऊ, बाँचेकालाई राहत देऊ’ ‘सास बचाउन नसके पनि कम्तीमा लास खोजिदेऊ, बाँचेकालाई राहत देऊ’


प्रकाशित : बुधबार, भदौ १७ २०८३१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend