काठमाडौं- सात दिन भयो रामचन्द्र परियारले छोराको आवाज सुन्न पाएका छैनन्। आमा राजमतीको आँखा बाटोतिरै छ। हरेक फोनको घण्टीले उनीहरूलाई झस्काउँछ, ‘कतै राजकुमार भेटिए कि?’
सात दिनदेखि जवाफ आएको छैन। न लास भेटिएको छ न त सासको खबर।
रसुवाको टिमुरेमा होटल सञ्चालन गर्दै आएका गोरखा सहिद लखन गाउँपालिका-७ मकैपुर कोटगाउँका राजकुमार परियार गएको बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन छन्।
काम खोज्दै केही वर्षअघि टिमुरे पुगेका राजकुमारले त्यहीँ आफ्नो जीवन बनाउने प्रयास गरेका थिए। अरुको होटलमा काम गरे। दुःख गरे। विस्तारै आफैले गेष्ट हाउस सञ्चालन गर्न थाले। टिमुरे नै उनको रोजगारी, कर्म र भविष्य बनेको थियो। त्यो भविष्य अहिले एकाएक हरायो।
बाढी आएको दिनदेखि राजकुमार कहाँ छन् कसैलाई थाहा छैन। बाँचिरहेका छन् कि बाढीले उनलाई पनि आफूसँगै बगायो परिवारसँग उत्तर छैन। उत्तर खोज्न उनका बुबा रामचन्द्र आफै निस्किएका छन्।
काठमाडौंका अस्पताल सबै चहारे। शिक्षण अस्पताल पुगे। वीर अस्पताल पुगे। छोराको कुनै खबर भेटिन्छ कि भनेर ढोकाढोका पुगे। बेपत्ता भएका मानिसहरूको सूची हेरे। शवबारे सोधे। हरेक ठाउँबाट निराश भएर फर्किए।
छोराको खोजमा उनको पाइला रोकिएन। कुनै खबर चितवनसम्म पुगेको हुनसक्छ भन्ने आशामा उनी त्यहाँ पुगे। नवलपरासीसम्म पुगे। अपरिचित ठाउँमा पनि छोराको अनुहार खोजिरहे।
रामचन्द्रको खोजीमा तर्कभन्दा ठूलो एउटा बुबाको आश बनेको छ। प्रमाण छैन। खबर छैन। संकेत छैन तर उनी आशमा छन्, ‘छोरो आउँछ।’
त्यही आशले आमा राजमतीले अहिले आँसु रोकेकी छिन्। छोराको कुनै खबर आउँछ कि भनेर उनी दिनरात पर्खिरहेकी छिन्। घरको आँगनमा पाइला सुनिन्छ कि भनेर कान थापिरहेकी छिन्। फोन बज्दा मुटु ढकढक गर्छ। अपरिचित नम्बर देख्दा पनि आश जाग्छ तर खबर आउँदैन। फेरि सुरु हुन्छ प्रतीक्षा।
राजकुमारको परिवार अहिले सास र लासबीच अड्किएको छ। न उनीहरूले छोरालाई मृत स्वीकार गर्न सकेका छन् न त जीवित भएको प्रमाण पाएका छन्।
त्यसैले रामचन्द्र अस्पतालदेखि अस्पतालसम्म पुगिरहेका छन्। चितवनदेखि नवलपरासीसम्म भौतारिरहेका छन्। हारगुहार गरिरहेका छन् ‘मेरो छोरो खोजिदिनुस्।’
बाढीले टिमुरेमा कति संरचना बगायो, कति व्यवसाय तहसनहस भए, कति सडक र पुल भत्किए हिसाब हुँदैछ। रामचन्द्रका लागि अहिले ती सबै ठूलो क्षति होइन। उनका लागि सबैभन्दा पीडा हो छोराको कुनै खबर नहुनु।
राजकुमारले टिमुरेमा बसेर भविष्य बनाउने सपना देखेका थिए। होटल चलाएर परिवारलाई सुख दिने सपना देखेका थिए। आज त्यही परिवार उनको एक झल्को, एक फोन, एक खबर र अन्ततः एक सत्यको प्रतीक्षामा छ।
सात दिनदेखि एउटै प्रश्न घरभित्र घुमिरहेको छ, राजकुमार कहाँ छन्? रामचन्द्र अझै खोजिरहेका छन्। राजमती अझै बाटो हेरिरहेकी छिन्।