काठमाडौं- गएको बुधबार बिहान हिम चट्टानसहित पहिरो झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा पुग्दा सयौँ बस्ती उजाड बन्यो। मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम चलिरहँदा त्यो त्रासदीमा सम्पर्कविहीन भएका सयौँको अझै खबर छैन।
नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशुली नदीमा प्रवेश गरेको हो।
बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा हुँदै बग्ने त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ। त्यही बाढीपछि रसुवास्थित 'त्रिशुली थ्री बी' जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएकामध्ये एक हुन् ३२ वर्षका हेमन्तराज जोशी।
चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको भगिनी कम्पनी 'चेस्को' मा कार्यरत इन्जिनियर जोशी निर्माणाधीन 'त्रिशुली थ्री बी' आयोजनास्थलबाट सम्पर्कविहीन भएका हुन्।
बाढी आएको आठौँ दिन बितिसक्दा पनि कुनै खबर नआउँदा परिवारका सदस्य थप पीडामा छन्। हेमन्तराजकी बहिनी सावित्री जोशीले आठौँ दिन बित्दासमेत कुनै खबर नआएको भन्दै प्रश्न गरेकी छिन्, 'आज आठौँ दिन। खोइ हाम्रो मान्छे? खोइ ती ४३ जना? खोइ मेरो दाइ?'
सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै सावित्रीले लेखेकी छिन् -
रसुवास्थित अपर त्रिशुली-३ बी जलविद्युत् आयोजनामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका ४३ जनामध्ये मेरो दाइ पनि हुनुहुन्छ। उहाँ हाम्रो घरको एक्लो छोरा हुनुहुन्छ। सात दिनदेखि हाम्रो परिवार एउटा खबरको प्रतीक्षामा छ। फोन बज्दा मुटु ढुकढुक गर्छ, सायद दाइको खबर आयो कि? कसैले ढोका ढकढकाउँदा मनले भन्छ, सायद उहाँ फर्केर आउनुभयो कि? तर अहिलेसम्म निश्चित खबर छैन।
आशा अझै बाँकी छ। विश्वास अझै बाँकी छ। त्यसैले खोजी पनि रोकिनु हुँदैन।
तर आज आठौँ दिनमा आइपुग्दा हाम्रो प्रश्न झन् गम्भीर भएको छ। सात दिनमा कहाँसम्म खोजियो? कति क्षेत्र खोजियो? कति जनशक्ति परिचालन भयो? कुन-कुन उपकरण प्रयोग गरियो? कति विज्ञ परिचालन भए? कुन प्रविधिबाट खोजी भइरहेको छ? कहाँ-कहाँ अझै खोजी गर्न बाँकी छ? अबको स्पष्ट कार्ययोजना के हो?
यदि सुरुङ, लेदो, भग्नावशेष वा भौगोलिक अवस्थाका कारण उद्धार कठिन छ भने त्यसका लागि आवश्यक विशेषज्ञता र प्रविधि प्रयोग भइरहेको छ कि छैन?
यदि एउटा प्रविधिले काम गरेन भने अर्को विकल्प प्रयोग भइरहेको छ कि छैन? यदि नेपालमा आवश्यक उपकरण छैन भने बाहिरबाट ल्याउने प्रक्रिया अघि बढेको छ कि छैन? यदि विज्ञ टोली आइसकेको छ भने उनीहरूको सुझाव के छ?
हामीलाई यी प्रश्नको स्पष्ट र तथ्यमा आधारित जवाफ चाहिएको छ।
हामी कसैलाई आजै दोषी ठहर गर्न खोजिरहेका छैनौँ। छानबिन होला। अनुसन्धान होला। जिम्मेवारी निर्धारण होला। तर अहिले सबैभन्दा ठूलो प्राथमिकता उद्धार हो।
एउटा जीवन बचाउन सकिने सम्भावना अझै छ भने त्यो सम्भावना अन्तिमसम्म प्रयोग गरिनुपर्छ।
यी प्रश्न कसैलाई दोषी घोषणा गर्नका लागि होइनन्। यी प्रश्न एउटा पीडित परिवारले आफ्नो मान्छेको जीवनका लागि उठाएको आवाज हो। ४३ जना कुनै संख्या होइनन्। ४३ जना ४३ परिवारका संसार हुन्। कसैका छोरा, कसैका दाइ, कसैका भाइ, कसैका श्रीमान्, कसैका बुबा। ती ४३ जनामध्ये मेरो दाइ हुनुहुन्छ। त्यसैले हामीले 'खोइ?' भनेर सोध्दा त्यो राजनीति होइन, विरोध होइन, कसैको अपमान होइन। यो एउटा परिवारको पीडा र नागरिकको प्रश्न हो।
प्रधानमन्त्रीज्यू, राष्ट्रपतिज्यू, गृहमन्त्रीज्यू, मन्त्रीज्यूहरू तथा माननीय सांसदज्यूहरूलाई मेरो प्रश्न छ दुईतिहाइको बलियो सरकार हुँदा पनि यस्तो विपत्तिमा राज्यको सम्पूर्ण शक्ति एकै ठाउँमा केन्द्रित गरेर उद्धारलाई तीव्र बनाउन किन कठिन भइरहेको छ? सरकारसँग स्रोतसाधन छ भने ती स्रोतसाधन अहिले कहाँ छन्? राज्यसँग निर्णय गर्ने अधिकार छ भने आवश्यक निर्णय कहिले हुन्छ? विज्ञ बोलाउन सक्ने क्षमता छ भने आवश्यक विज्ञ समयमै किन परिचालन भएनन्? आवश्यक प्रविधि ल्याउन सकिन्छ भने त्यो प्रविधि कहिले आउँछ?
हामीले सरकारसँग 'हाम्रो मान्छे खोइ?' भनेर प्रश्न गर्दा उल्टै गाली खानुपर्ने हो? हामीले 'उद्धार तीव्र बनाइदिनुस्, स्रोतसाधन जुटाइदिनुस्, विज्ञ बोलाइदिनुस्' भन्दा हामी नै गलत हुने हो?
यदि तपाईंको घरको एक्लो छोरा सात दिनदेखि सम्पर्कविहीन भएको भए, तपाईं पनि चुप लागेर बस्नुहुन्थ्यो? यदि तपाईंको दाइ त्यहाँ हुनुहुन्थ्यो भने तपाईंले पनि प्रश्न नगर्नुस् भन्नुहुन्थ्यो? यदि तपाईंको परिवार सात दिनदेखि एउटा फोनको प्रतीक्षामा बसेको भए, तपाईंलाई पनि थाहा हुन्थ्यो आफ्नो मान्छेको खबर नआउँदा प्रत्येक मिनेट कति पीडादायी हुन्छ।
४३ जना कुनै संख्या होइनन्। ४३ जना ४३ परिवारका संसार हुन्। कसैका छोरा, कसैका दाइ, कसैका भाइ, कसैका श्रीमान्, कसैका बुबा। ती ४३ जनामध्ये मेरो दाइ हुनुहुन्छ।
त्यसैले हामीले 'खोइ?' भनेर सोध्दा त्यो राजनीति होइन। यो कसैलाई अपमान गर्ने प्रयास होइन। यो विरोधका लागि विरोध होइन। यो आफ्नो मान्छेको जीवनका लागि उठाइएको आवाज हो।
हामीलाई सामाजिक सञ्जालमा 'रेस्क्यु भइरहेको छ', 'सबै काम भइरहेको छ' भन्ने पोस्ट मात्र चाहिएको छैन। यदि उद्धार भइरहेको छ भने कहाँ भइरहेको छ? कसरी भइरहेको छ? कति जनशक्ति खटिएको छ? कुन उपकरण प्रयोग भइरहेको छ? अहिलेसम्म के पत्ता लाग्यो? अब के गरिँदैछ?
हामीलाई पोस्ट होइन, प्रगति चाहिएको छ। आश्वासन होइन, परिणाम चाहिएको छ। फोटो होइन, हाम्रो मान्छे चाहिएको छ।
प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, सम्बन्धित मन्त्रीज्यूहरू, सुरक्षा निकायका नेतृत्व, आयोजना व्यवस्थापन तथा सबै जिम्मेवार निकायहरू-कृपया आठौँ दिनलाई पनि अर्को सामान्य दिन नबनाइदिनुस्।
यदि थप उपकरण चाहिन्छ भने तुरुन्त जुटाउनुस्। थप विज्ञ चाहिन्छ भने तुरुन्त बोलाउनुस्। थप जनशक्ति चाहिन्छ भने परिचालन गर्नुस्। नयाँ प्रविधि आवश्यक छ भने प्रयोग गर्नुस्। जहाँ बाधा छ, हटाउनुस्। जहाँ सम्भावना छ, अन्तिमसम्म खोज्नुस्।
सबैभन्दा महत्त्वपूर्ण परिवारलाई हरेक चरणको सत्य र स्पष्ट जानकारी दिनुस्।
हामीलाई थाहा पाउने अधिकार छ। हामीलाई आशा गर्ने अधिकार छ र आफ्नो मान्छेको खोजी तीव्र पार्न आग्रह गर्ने अधिकार पनि छ।
दाइ, तपाईं जहाँ हुनुहुन्छ हिम्मत नहार्नु। तपाईंलाई घरमा सबैले पर्खिरहेका छन्। तपाईंको एउटा खबरका लागि हाम्रो परिवारको हरेक धड्कन चलिरहेको छ। हामी अझै विश्वास गरिरहेका छौँ तपाईं कतै हुनुहुन्छ। तपाईंलाई खोज्न सकिन्छ। तपाईंलाई बचाउन सकिन्छ। तपाईं घर फर्किनुहुन्छ।
आज आठौँ दिन। तर हाम्रो आशा अझै बाँकी छ। खोइ ती ४३ जना? खोइ हाम्रो मान्छे? खोइ मेरो दाइ? अब हामीलाई स्पष्ट जवाफ चाहिएको छ। प्लिज, हाम्रो दाइ बचाइदिनुस्। ती ४३ जनालाई अन्तिमसम्म खोजिदिनुस्। उहाँहरूलाई आफ्ना परिवारमा फर्काइदिनुस्।