काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले लन्डन भ्रमणमा जाँदा काटेको १२ लाख रुपैयाँको टिकटको भुक्तानी रोकिएको छ। सार्वजनिक खरिद ऐनअनुसार ५ लाख रुपैयाँभन्दा बढीको टिकट काट्दा प्रतिस्पर्धाबाट गराउनुपर्नेमा सिधै खरिद गरेपछि पर्यटन मन्त्रालयको लेखा शाखाले भुक्तानी रोकेको हो।
'मन्त्री आले त के प्रधानमन्त्रीले निकासी गर्ने भने पनि हामी गर्न सक्दैनौं,'लेखाशाखाका एक कर्मचारीले भने 'गैरकानूनी रुपमा काटिएको टिकटको भुक्तानी दिएर हामी कारबाही भोग्न तयार हुने कुरै हुन्न।'
गत कात्तिकमा मन्त्री आलेले ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) को कार्यक्रममा भाग लिन लन्डन जाँदा १२ लाख ३५ हजार रूपैयाँ टिकटमा खर्चिएका थिए। सोही कार्यक्रममा जाने अन्य सहभागीहरूले भने १ लाख ३८ हजार रुपैयाँमा टिकट खरिद गरेका थिए। मन्त्री आलेले सिलिंक ट्राभल एन्ड टुर्स कम्पनीमार्फत २९ अक्टोबरमा दुईतर्फी टिकट खरिद गरेका थिए। उनी ३१ अक्टोबरमा लन्डन उडेका थिए।
टिकेटिङ कम्पनीहरूका अनुसार कतार एयरवेजको दोहोरो टिकट मूल्य अहिलेसम्म बिजनेस क्लासमा नै पनि अधिकतम पाँच लाख रूपैयाँभन्दा बढी पुगेको थिएन। मन्त्री आलेको टिकटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भ्याट नम्बर ७८-९ टी-०३६५२ बाट बिल काटिएको थियो। जसमा १२ लाख ३५ हजार रुपैयाँको बिल काटिएको थियो। ट्राभलबाट मन्त्री आलेले कतार एयरवेजको १५७३८६७०३२०६२ नम्बरको टिकट लिएका थिए।
अहिले भुक्तानीका लागि मन्त्री आलेले लेखा शाखामा दबाब दिइरहेका छन्। साथै टिकेटिङ एजेन्सीबाट हरेक दिन मन्त्रालयमा रकम निकाशाका लागि कर्मचारी धाइरहेका छन्। तर ५ लाख रूपैयाँभन्दा बढीको खरिदमा प्रतिस्पर्धा नभएको भन्दै लेखा शाखाले भुक्तानी रोकेको हो।
डब्लूटीएममा नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम पनि सहभागी थिए। त्यस्तै पर्यटनमन्त्री आलेसहित तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा गएका थिए।
मन्त्रिपरिषद्बाट स्वीकृत भ्रमण नभएको भए पनि कार्यक्रममा सहभागी मन्त्री, सचिव र स्वकीय सचिवको खर्च सरकारी ढुकुटीमार्फत नै भएको थियो। जहाँ मन्त्रीबाहेक अन्यको भने १ लाख ३८ हजार रुपैयाँको दुईतर्फी टिकट काटिएको थियो। कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए।
मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए। कार्यक्रममा भाग लिएर मन्त्रीसहित अन्य सहभागीहरू नोभेम्बर ६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। मन्त्री आलेले सोही कार्यक्रमबाट फर्किंदा नै भन्सार छलेर ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याएका थिए।
लन्डन जाने टिकट : अरूलाई डेढ लाख मन्त्री आलेलाई १२ लाख