बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हुवावेको बद्‍मासीले एनटीसीको फोरजीमा अधुरो ‘स्मल सेल’, सहरी क्षेत्रमा फाइभजीको गुणस्तर बढाउन अनिवार्य

आइतबार, साउन ३१ २०८३
हुवावेको बद्‍मासीले एनटीसीको फोरजीमा अधुरो ‘स्मल सेल’, सहरी क्षेत्रमा फाइभजीको गुणस्तर बढाउन अनिवार्य

फोरजी विस्तारमा करिब ६ हजार स्मलसेल जडान गर्ने सम्झौता भएपनि हुवावेले पालना गरेको छैन। यही भएर गुणस्तर प्रभावित भएको छ। अब भने प्राधिकरणले फाइभजीमा घना शहरी क्षेत्रमा यही प्रविधि आवश्यक ठानेको छ।

काठमाडौं- नेपाल टेलिकमको फोरजीको गुणस्तर बढाउनका लागि सहरी क्षेत्रमा राख्ने भनिएको स्मल सेल हुवावेको बद्मासीका कारण पूरा हुन नसकेपनि फाइभजीका लागि भने यस्तो पूर्वाधार आवश्यक हुने दूरसञ्चार प्राधिकरणले सिफारिस गरेको छ। 

प्राधिकरणको सार्वजनिक गरेको नेपालको फाइभजी रोडम्यापको खाकाको मस्यौदामा अहिलेको माइक्रोसेलमा आधारित मोबाइल नेटवर्क सामान्य मोबाइल ब्रोडब्यान्डका लागि पर्याप्त भए पनि फाइभजीमा बढ्ने डेटा ट्राफिक पर्याप्त नहुने उल्लेख गरिएको छ। 

स्मल सेलले न्यून पावर र छोटो दुरीमा सेवा दिने भएकाले ठूला टावरबाट पर्याप्त क्षमता नपुग्ने स्थानमा स्थानीय रूपमा नेटवर्क क्षमता बढाउन सक्छ। शेषगरी घना बस्ती, ठूला भवन र उच्च ट्राफिक हुने क्षेत्रमा यसको प्रयोगले नेटवर्क क्षमता र इन्डोर कभरेज सुधार गर्छ। 

नेपाल टेलिकमले फोरजीको गुणस्तर बढाउने भन्दै यस्तो उपकरण राख्ने योजना अघि बढाएको थियो। टेन्डर पनि सोहीअनुसार भएर सम्झौता पनि भएको थियो तर चिनियाँ कम्पनी हुवावेको अटेरी तथा व्यवस्थापनको लाचारीले अहिलेसम्म यो अलपत्र परेको छ। 

नेपाल टेलिकमको करिब १९ अर्ब रुपैयाँको फोरजी विस्तार परियोजनामा करिब ६ हजार स्मल सेल जडान गर्ने प्रावधान रहेको थियो। करिब ७० करोड रुपैयाँ बराबरको उक्त काम नै नगरी हुवावेले काम सम्पन्न गरेको प्रमाणपत्र लिन खोजिरहेको छ। 

फोरजी विस्तारको रेडियो एक्सेस नेटवर्कको काम हङकङस्थित सीसीएसआई र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटीईले पाएका थिए। सीसीएसआई हुवावेकै कम्पनी हो। 

फाइभजीको चुनौती ठूलो क्षेत्रलाई सेवा दि मात्र नभएर एकैपटक धेरै ट्राफिक पनि व्यवस्थापन गर्नुपर्ने भएकाले सबै ठाउँमा माइक्रो टावर थपेर फाइभजीको क्षमता बढाउन नसकिने प्राधिकरणको उल्लेख गरेको छ। 

घना सहरी क्षेत्रमा स्मल सेल जडान गरेर नेटवर्कको क्षमता बढाउन सकिने भएकाले यस्तो उपकरण राख्नुपर्ने प्राधिकरणले प्रस्ताव गरेको छ। 

सडकका बत्ती, भवन तथा अन्य पूर्वाधारमा यस्ता उपकरण राख्न सकिने भएकाले पूर्वाधार साझेदारीलाई प्रोत्साहन गर्ने प्राधिकरणको विश्वास छ। 

स्मल सेल थप्दैमा फाइभजीको क्षमता स्वत: बढ्ने भने होइन मुख्य कुरा ब्याकहउल नै पर्याप्त क्षमतायुक्त हुनुपर्ने प्राधिकरणको खाकामा उल्लेख गरिएको छ। 

फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै

 टेलिकमको फोरजी सेवा गुणस्तरहीन बनाउने हुवावेलाई अब कारबाही होला?


प्रकाशित : आइतबार, साउन ३१ २०८३१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend