बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छ तर श्रीलंकाको स्थितिमा पुग्ने अवस्था होइन : ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २३ २०७८
अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छ तर श्रीलंकाको स्थितिमा पुग्ने अवस्था होइन : ढकाल

स्वदेशमा उत्पादित वस्तुहरूको जबसम्म उपभोग गरिँदैन तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने उनले बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन्। 

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताएका हुन्।

उनले स्वदेशमा उत्पादित वस्तुहरूको जबसम्म उपभोग गरिँदैन तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने बताए।

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न आवश्यक रहेको बताए। ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै  रोजगारी सृजना गर्ने , राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरूको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिँदैन त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन' उनले भने, 'स्वदेशी उत्पादनलाई र अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न सक्यो भने अहिलेका चुनौती पूर्ण अर्थतन्त्रको सामना गर्न सक्छौँ। श्रीलंकाको जस्तो अवस्था जस्तो हुन्छ भन्ने लाग्दैन। अर्थतन्त्र सुधार गर्न खालका काम गर्न नीजी क्षेत्रलाई आग्रह गर्दछु।’

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए। उनले तरलता अभावको कारण बैंकहरूले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे। उनले बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताए। उनले बैंकहरूमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरू अगाडि बढ्न नसक्ने दाबी गरे।

उनले भने, ‘अहिले बजारमा तरलताको समस्या रहेको छ। त्यसले गर्दा बैंकहरूले ब्याजदर बढाएका थिए। तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ। जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुन सक्दैन। यस्तो अवस्थामा व्यवसायीक गतिविधिहरू अगाडि बढ्न सक्दैन।’


प्रकाशित : बुधबार, चैत २३ २०७८१०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend