बिहीबार , असोज ३ गते २०८१    
images
images

एसियन हाइवे : इटहरी र दमकमा तीनवटा ‘ओभरपास’, चारआलीमा हात्तीको ‘क्रसिङ वे’

images
सोमबार, भदौ २४ २०८१
images
images
एसियन हाइवे : इटहरी र दमकमा तीनवटा ‘ओभरपास’, चारआलीमा हात्तीको ‘क्रसिङ वे’

पहिलो प्याकेजअन्तर्गत काँकडभिट्टादेखि केरखसम्म ४५ किमी पूर्वी खण्ड र केरखादेखि इटहरीसम्म ५०.७६ किमीलाई पश्चिम खण्डमा विभाजन गरिएको छ। तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाएको आयोजनाले तीन सय मिटरभन्दा लामा ६ वटा पुललाई दुई प्याकेज बनाएको हो।

images
images

इटहरी- एसियन हाइवेअन्तर्गत पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा लौकही (१२० किलोमिटर) सडक खण्डमा धमाधम काम भइरहेको छ। पहिलो चरणमा काँकडभिट्टादेखि इटहरीसम्म ९५.७६ किलोमिटर सडक तथा पुलको ठेक्का लागेर निर्माण कार्य सुरु भएको हो। 

images
images
images

एसियाली डेभलपमेन्ट बैंक (एडीबी) को ८४ दशमलव १० प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव ९० प्रतिशत लगानीमा हाइवे मर्मतको काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ। ३४ अर्ब ९१ करोड लागतमा सम्पन्न हुने आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

२०८१ जेठ ९ गते शिलान्यास भएको आयोजनाको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको बताइएको छ। आयोजना प्रमुख जगत प्रजापतिका अनुसार १९ अक्टोबर २०२३  (२०८० साल कात्तिक २) मा भएको सम्झौता अनुसार २०८६ साल माघमा सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको हो। निर्माण सम्पन्न भएको बाकी ६ वर्षसम्म मर्मत सम्भारको जिम्मा स्वयम् कम्पनीले लिनेगरी सम्झौता भएको उनको भनाइ छ। 

५२ वटा पुल, २८९ कल्भर्ट र १० वटा सवारी गुड्ने ओभरपास एकैसाथ निर्माण हुँदैछन्। चारआली, बिर्तामोड र चारपानेमा एकएक वटा ओभरपास राखिएको छ । सहरको व्यस्तता र हाइवे क्रस भएपछि दमक र इटहरीमा तीनवटा ओभरपासको नक्सा तयार भएको हो।

images

इटहरीको जुटविकास चोक, मुख्य चोक (कोसी राजमार्ग) र कलंकी चोकमा गरी तीनवटा ओभरपासको व्यवस्था छ। त्यसबाहेक बीचबीचमा स-साना क्रसिङ-वे राखिएको प्रमुख प्रजापतिले बताए। 

दमकको पशुहाट, मुख्य चोक र भाटभटेनी आसपास तीनवटा ओभरपास रहने भएका छन्। मोरङको बाँसबारीमा क्रसिङ हाइवेको अवधारणा अन्तरगत माथिबाट र माइनर रोड तलबाट हुने गरी डिजाइन भएको छ।

दमक, उर्लाबारी र विराटचोकमा छुट्टै ओभरहेड क्रसिङको व्यवस्था हुने भएको छ। पैदल यात्रुको लागि १८ वटा अन्डरपास र १२ वटा पशु क्रसिङसहितको सडक निर्माण हुने आयोजना कार्यालयले जनाएको छ। 

पर्यावरणलाई ख्यालमा राखिएको बताउँदै आयोजना प्रमुख प्रजापतिले चारआली र बिर्तामोड बीचको जंगलमा हात्तीको लागि क्रसिङ राखिएको जानकारी दिए। वन्यजन्तुको कारण राजमार्गमा असर नपुगोस् भन्ने उद्देश्यले पर्यावरणलाई ख्याल गरिएको उनको भनाइ छ। राजमार्ग निर्माणको कारण वन्यजन्तुको वासस्थानलाई समेत सुरक्षित गर्न खोजिएको उनले बताए। 

सय किलोमिटर प्रतिघण्टाको स्पिडको लागि सडक निर्माण भएको हाइवेले नेपाललाई दक्षिण एसियाली मुलुकका प्रमुख सहरसम्म जोड्ने भएको छ। म्यानमार, बंगलादेश, भारत, पाकिस्तान हुँदै इरानसम्म फैलिएको विशाल सडक सञ्जालले प्रमुख सहर तथा सांस्कृतिक केन्द्रलाई समेटेको हो।

asian highway (2).jpg

नेपाल सरकारको पन्ध्रौँ पञ्चवर्षीय योजनामा अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई जोड्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप काम भइरहेको छ। सोहीअनुसार २०२९ को डिसेम्बरसम्मको लागि २०२३ जुलाई ७ मा एडीबीसँग नेपाल सरकारले ऋण सम्झौता गरेको हो। 

झापा मोरङ र सुनसरी तीन जिल्लामा सञ्चालित आयोजनाको ५७ किलोमिटरमा चार लेनसहित २४ मिटर चौडाइ भएको सडक निर्माण हुने भएको छ। इटहरी, बिर्तामोड, दमक, उर्लाबारी लगायत सहरी क्षेत्रमा दायाँबायाँ ६.५ मिटरको फुटपाथ निर्माण गर्ने तयारी छ। सहरी क्षेत्रमा २८.४ किमी क्षेत्रमा सडक स्तरोन्नति हुने आयोजना कार्यालयले जनाएको छ। ३ मिटर चौडाइको डिभाइडर सहित दुवैतर्फ फुटपाथ अनिवार्य गरिएको छ। 

पहिलो प्याकेजअन्तर्गत काँकडभिट्टादेखि केरखसम्म ४५ किमी पूर्वी खण्ड र केरखादेखि इटहरीसम्म ५०.७६ किमीलाई पश्चिम खण्डमा विभाजन गरिएको छ। तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाएको आयोजनाले तीन सय मिटरभन्दा लामा ६ वटा पुललाई दुई प्याकेज बनाएको हो।  

काँकडभिट्टादेखि केरखासम्म ४५ किमीमा १० अर्ब ६ करोडको लागि ठेक्का सम्झौता भएको छ। नेपालको कालिका कन्स्ट्रक्सन र एक चाइनिज कम्पनीले संयुक्त रूपमा ठेक्का पाएका छन्। केरखादेखि गोठगाउँसम्मको ४० किमीमा ससाना पुलसहित अर्को चाइनिज कम्पनी (सीआरएफजी) र टुण्डीले ९ अर्ब १३ करोडमा संयुक्त काम गरिरहेका छन्। गोठगाउँ देखि इटहरीको लबीपुरसम्मको १० किलोमिटरमा पनि टुण्डी र अर्को एक चाइनिज कम्पनीले ४ अर्ब ७ करोडमा ठेक्का पाएका छन्। 

दोस्रो प्याकेजमा टुण्डीले नै निन्दा, बिरिङ र कन्काई खोलाको पुल निर्माण गर्ने भएको छ। ५ अर्ब ९७ करोड लागतमा चाइनिज कम्पनी सँगको सहकार्यमा काम अगाडि बढाएको हो। सोही कम्पनीले तेस्रो प्याकेजको पनि ठेक्का पाएको छ। जसअन्तर्गत ५ अर्ब ६५ करोडमा रतुवा, बक्राहा खोलाको पुल निर्माण भइरहेका छन्। 

हाल काँकडभिट्टादेखि इटहरीसम्म मात्र बजेट भएको हुँदा थप बजेट सुनिश्चित भएपछि लौकहीसम्मको ठेक्का आह्वान गरिने प्रमुख प्रजापतिले जानकारी दिए। लौकहीबाट कोसी टप्पुको पश्चिम गेट (राजाबास) हुँदै सप्तरीको कञ्चनरुप पुर्‍याउने वा इटहरीको कान्छी चोकबाट राजावास पुर्‍याउने भन्नेबारे यकिन भएको छैन। राजाबासबाट तीन किलोमिटर लामो पुल निर्माण गर्न लागिएको हो। 


प्रकाशित : सोमबार, भदौ २४ २०८११०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend