बागमती- हेटौँडा उपमहानगरपालिका-१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ। खुवा उत्पादनमा विशिष्ट पहिचान जस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ।
विभिन्न पेसा र व्यवसायमा आबद्ध रही बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्ति लोकपथमार्फत चुच्चे खोला हुँदै आवतजावत गर्ने हुन्, जो-कोहीले पनि यहाँबाट घरमा कोसेलीका रुपमा खुवा लैजाने गर्दछन्।
करिब २०३५/३६ सालतिरदेखि चुच्चे खोला क्षेत्रमा सुरु भएको खुवा बनाउने व्यवसाय पछिल्ला वर्षमा यहाँको उत्कृष्ट पहिचान त बन्यो नै, यो क्षेत्र हेटौँडाको कोसेली घरकै रुपमा स्थापित बनेको हो।
खुवा मात्र नभइ यहाँ दूधबाट बन्ने पेडा, पुष्टकारी तथा विभिन्न मिठाइ पनि उत्पादन गर्ने गरिएको लक्ष्मीनारायण खुवा बिक्री केन्द्रका सञ्चालक सोमनाथ तिमल्सिनाले जानकारी दिए। विगत चार दशककै अन्तरालमा चुच्चे खोला खुवाका लागि राष्ट्रिय रुपमा नै ख्याति प्राप्त गरेको हो।
विसं २०४० आसपासमा यस क्षेत्रमा सामान्य काठका छाप्रा मात्रै रहेको अनुभव सुनाउँदै उनले तत्कालीन समयमा २० वर्षे उमेरको आफू कामको खोजीमा यस ठाउँमा आएको बताए। 'त्यस समयमा यहाँ सडक यातायातका लागि सामान्य ट्रयाक मात्रै खुलेको थियो', उनले भने, 'मैले त्यस समयमा ५०० रुपैयाँ लगानी गरी केटली र कप लिएर चिया र पाउरोटीको व्यापार थालेको हुँ।'
त्यस समयमा घरभाडा मासिक एक सय रुपैयाँ बुझाएको अनुभव सुनाउँदै उनले त्यसबेला यो ठाउँमा तामाङ समुदायको बाहुल्यता रहेको जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा चुच्चे खोला यस आसपासका हेटौँडा, गढी, सुखौरा, ठिङ्गन, मन्थली, बेतेनी, राइगाउँ, फापरबारी, छतीवन, हर्नामाडी र हटियाको केन्द्र जस्तै थियो।
सुरुमा आफूले व्यापार थाल्दा यस ठाउँमा चिया, पाउरोटी, जेरी, दही चिउरा आदिको व्यापार हुने गरेको बताउँदै उनले त्यसपछि क्रमशः खुवाको व्यापार बढ्दै गएको जानकारी दिए।
सुरुसुरुमा यस क्षेत्रमा गाउँबाट आउने जानेहरूले धेरै तरकारी चिउरा खाने गरेको बताउँदै उनले त्यस समयमा यहाँ ५० पैसामा नै तरकारी चिउरा खान पाइने जानकारी दिए।
'मैले चिया पाउरोटीसँगै त्यस समयमा एक घान, दुई घान गरेर क्रमशः खुवा पनि घोट्न थालेँ', अनुभवन सुनाउँदै उनले भने। त्यस समयमा बनाइएको खुवा आसपासका गाउँहरूबाट यहाँ आउँदा र जाँदा फाट्टफुट्ट खाने तथा लैजाने गरे पनि राम्रो व्यापार भने केही वर्षपछि मात्रै बढ्दै गएको उनको अनुभव छ।
तिमल्सिनाले तयार गरेको खुवा, पेडा, गुँदपाक २०५१ सालदेखि २०७० सालसम्म पोखराका आँगन, मारवाडी, देउराली मिष्ठान्न भण्डारमा पनि पुग्ने गरेको थियो। सुरुमा यहाँका दुई तीन वटा पसलमा मात्रै खुवा बन्ने गरेकामा अहिले २० वटाभन्दा बढी पसलमा खुवा बनाएर बिक्री गर्ने गरिएको छ।
सुरुवाती समयमा २०४०र४१ सालतिर दूध प्रतिमाना दुई रुपैयाँदेखि पाँच मोहोरसम्म पाइने गरेको र त्यस समयमा खुवा प्रतिकिलो ३० रुपैयाँमा बिक्री हुने गरेको उनले अनुभव सुनाए। तिमिल्सनाले खुवा तथा मिठाइको व्यापारबाटै वार्षिक १०/१२ लाख आम्दानी गर्दै आएका छन्। खुवाको बिक्रीबाटै खाली हात जस्तै काभ्रेको बेथानचोकबाट चुच्चे खोलामा आएको आफूले दुई छोरा र एक छोरीको उचित पठनपाठनसँगै राम्रैसँग जग्गा जमिन तथा सम्पत्ति जोड्न सकेका धेरै सुखद अनुभवहरू रहेको उनले बताए।
यहाँबाट बिक्री हुने गरेको खुवाका कारण स्थानीयमा स्वरोजगार सिर्जना गरेसँगै युवामा पनि गरे हुन्छ भन्ने भावना अभिवृद्धि गरेको छ। खुवाका कारण भैँसीपालन गर्ने कृषकलाई दूध बिक्री नहुने चिन्ता हटेको स्थानीय कृषकहरू बताउँछन्। यहाँ उत्पादित खुवाले स्थानीय पहिचान र युवालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्ने गरेको छ।
खुवाका कारण दूधको पर्याप्त रुपमा खपत हुने भएकाले चुच्चे खोला आसपासमा भैँसीपालनतर्फ पनि आकर्षण बढेको छ। पछिल्लो समयमा कतिपय खुवा पसल सञ्चालकले स्थानीयलाई भैँसीपालनका लागि ऋण सहयोगसमेत दिँदै आएका छन्। हाल भैँसीको दूध प्रतिलिटर ११० रुपैयाँमा पाइन्छ भने गाईको दूध प्रतिलिटर ८० रुपैयाँमा पाइन्छ।
खुवाका लागि भने भैँसीको दूध नै उपयुक्त हुने कृष्ण कन्हैया खुवा सेन्टरका सञ्चालक श्यामकुमार मानन्धरले बताए। दूधबाट बन्ने अन्य पेडा, पुष्टकारीजस्ता मिठाइका लागि भने गाईको दूध प्रयोग गरिने उनले बताए।
मानन्धरले खुवा व्यापारबाटै मासिक करिब एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। अन्य तीन जनालाई रोजगारीसमेत दिएका उनलाई खुवा उत्पादन तथा व्यापारमा श्रीमती तथा छोरा र छोरीले निरन्तर सघाउँदै आएका छन्। खुवा उत्पादनका लागि दाउराको प्रयोग नै उपयुक्त मानिने बताउँदै उनले करिब २५ मिनेटमा एक घान खुवा तयार हुने बताए।
सामान्यतः चार लिटर दूधको एक किलो खुवा तयार हुने भनिए पनि लगभग नौ सय ग्राम मात्र बस्ने गरेको खुवा व्यवसायीहरू बताउँछन्। चुच्चे खोलाबाट खुवा प्रतिकिलो ७०० रुपैयाँ, पेडा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ। यहाँबाट गुदपाक तथा अन्य मिठाइ पनि राम्रै बिक्री हुँदै आएको छ।
चुच्चे खोला खुवाका लागि रामै्र ब्राण्ड बनिरहेको हेटौँडा उपमहानगरपालिका-१७ का वडाध्यक्ष उद्धव सत्यालले बताए। चुच्चे खोलामा भइरहेको खुवा उत्पादन र प्रवर्द्धनमा नगरपालिकाले जोड दिएको बताउँदै उनले यसका लागि खुवा उत्पादन गर्ने व्यवसायीलाई आधुनिक मेसिन तथा चुल्हो अनुदानमा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम रहेको जानकारी दिए।
'खुवा उत्पादनमा प्रोत्साहनसँगै नगरपालिकाले यस क्षेत्रमा गाई तथा भैँसीपालनका लागि पनि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ', उनले भने, 'कृषिजन्य उत्पादनमा प्रोत्साहन तथा सहयोगका विभिन्न कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ।'
आँखै अगाडि पकाइने भएकाले अझै विश्वास बढाउँदै
यस क्षेत्र हुँदै आवतजावत गर्ने आफ्ना आँखै अगाडि सफासुग्घरसहित खुवा घोटिरहेको देखेर पनि पूर्ण विश्वासका साथ खुवा किनेर लैजाने गरेका छन्। प्रत्येक दिन बिहान सबेरैदेखि बेलुका अबेरसम्म खुवा घोटिरहेको दृश्य देख्न पाउनु पनि यहाँको मौलिकता हो। जतिसुकै ढिलो किन नहोस् यहाँ पसेर खुवाको स्वाद लिएर मात्रै मानिस आफ्नो गन्तव्यमा जाने गरेको स्थानीयवासी बताउँछन्।
पछिल्ला वर्षमा हेटौँडाबाट देशका विभिन्न स्थानमा जाने सर्वसाधारणको प्रमुख कोशेली नै चुच्चे खोलाको खुवा हुने गरेको कृष्ण कन्हैया खुवा सेन्टरका सञ्चालक मानन्धरको भनाइ छ।
पछिल्लो समयमा भैँसीपालनको क्रमः घट्दै जाँदा आगामी दिनमा मागअनुसार खुवा बनाउन सकिँदैन की भन्ने चिन्ता बढाएको उनले बताए। आफूले २०५७ सालतिरबाट खुवा बनाउन सुरु गरेको बताउँदै उनले बढ्दो माग र ग्राहकहरूको विश्वासले थप उत्साहित बनाएको बताए।
हेटौँडाबाट काठमाडौं जाने कान्तिलोकपथ यहीँ भएर जाने भएकाले दैनिक धेरै परिणाममा खुवा तथा यहाँ उत्पादित गुदपाक, पुष्टकारी तथा मिठाइ काठमाडौंलगायत विभिन्न स्थानमा कोशेलीका रुपमा पुग्ने गरेको व्यवसायीहरू बताउँछन्।
पछिल्ला समयमा भैँसीपालन घट्दै जानुले आफूहरूको व्यवसायलाई प्रभावित पार्ने हो कि भन्ने चिन्ता बढाएको बताउँदै उनले पशुपालक कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे। खुवा उत्पादक व्यवसायीलाई पनि आधुनिक खुवा बनाउने मेसिनका साथै आधुनिक चुल्होहरू अनुदानमा सहयोग गर्न उनले सरकारसँग माग गरे। रासस