काठमाडौं- मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको नाफा तथा प्रमुख वित्तीय सूचकहरूमा दोहोरो अंकको सुधार देखिएको छ।
समीक्षा अवधिमा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको १२ करोड ९५ लाख रुपैयाँको तुलनामा ८.९८ प्रतिशतको वृद्धि हो।
ब्याज खर्चमा आएको कटौतीका कारण बैंकको खुद ब्याज आम्दानीमा सुधार आएको छ। अघिल्लो आर्थिक वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष ५०.२६ प्रतिशतले बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तारसँगै बैंकको सञ्चालन नाफा पनि १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ कायम भएको छ।
गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ। बैंकको हालको १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजीलाई आधार मान्दा सेयरधनीहरूलाई १२.७३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ।
समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा बैंकले राम्रो प्रगति गरेको छ। जसअनुसार ग्राहक निक्षेप ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
वित्तीय क्षेत्रको महत्त्वपूर्ण सूचक मानिने खराब कर्जा (एनपीएल) व्यवस्थापनमा मितेरी बैंकले उत्कृष्ट प्रदर्शन जारी राखेको छ। अघिल्लो वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा थप घटेर ०.२६ प्रतिशतमा झरेको छ। जुन सम्पूर्ण वित्तीय क्षेत्रमै अत्यन्त सुरक्षित र तल्लो स्तरमा मानिन्छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६५ पैसाबाट सुध्रिएर ११ रुपैयाँ ६० पैसा पुगेको छ।
असार मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ २० पैसा, पुँजी कोष अनुपात २५.७५ प्रतिशत, र कोषको लागत घटेर ४.२२ प्रतिशत कायम हुँदा आधार दर ५.९८ प्रतिशतमा झरेको छ।