बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

प्रधानमन्त्रीले अर्थमन्त्रीसँग भने - कसलाई ल्याउने वा कसलाई राख्ने भन्नेमा मेरो चासो छैन, नतिजा आउनुपर्छ

बिहीबार , साउन ७ २०८३
प्रधानमन्त्रीले अर्थमन्त्रीसँग भने - कसलाई ल्याउने वा कसलाई राख्ने भन्नेमा मेरो चासो छैन, नतिजा आउनुपर्छ

प्रणाली सुधार र सुशासन प्रवर्द्धनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा बदमासी भएको भए प्रमाणसहित जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिए।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने बताएका छन्।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकार र प्रधानमन्त्री स्वयंले नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान वा पहुँचका आधारमा नभइ क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए।

‘राजनीतिक दबाब कुनैपनि हालतमा हुनेछैन भन्नेकुरा मैले पहिले नै स्पष्ट गरिसकेको छु। हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो। अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हामीलाई बारम्बार भन्नुहुन्छ- कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन नतिजा आउनुपर्छ, तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस्। मैले पनि यही भावना मन्त्रालयमा लागु गरेको छु।'

बिहीबार आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले विधिपूर्वक काम गर्न र नतिजा देखाउन निर्देशन दिएको उल्लेख गरे।

प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको उल्लेख  गर्दै अर्थमन्त्री वाग्लेले सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गरिने बताए। 

विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट गरेको चर्चा गर्दै उनले अब त्यस्तो प्रणाली अन्त्य हुने दाबी गरे।

राजस्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि आफू स्वयं देशभरका भन्सार र कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कर्मचारीहरूका समस्या, चुनौती र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताउँदै उनले कुनैपनि सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे।

‘कसैले पनि डराउनु पर्दैन। कुनै गुनासो वा सुझाव भए सिधै मेरो कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो उद्देश्य व्यक्तिगत निर्णय होइन, प्रणाली सुधार, सुशासन प्रवर्द्धन र संस्थागत सुधार हो। यदि कतै अनियमितता वा बदमासी भइरहेको छ भने प्रमाणसहित जानकारी गराइदिनुहोस्’ उनले भने।

प्रणाली सुधार र सुशासन प्रवर्द्धनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा बदमासी भएको भए प्रमाणसहित जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिए। यो कुनै व्यक्तिगत आग्रह नभइ समग्र प्रणाली सुधारको अभियान भएको उनको भनाइ छ।

'प्रणालीगत सुधार र प्रविधिमैत्री प्रशासनबाट मात्रै अर्थतन्त्रको कायापलट सम्भव छ'

अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेकोसमेत बताए।

अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पुँजीका रूपमा गरिने लगानीले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजस्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

उनले ‘स्वेच्छिक कर अनुपालन’को अवधारणालाई जोड दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गरे।

प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताए। उनले विभागको कार्यक्षमता बढाउन आइटी प्रणालीको स्तरोन्नति र चुस्त वाइफाई सेवा जस्ता आधारभूत आवश्यकतामा कुनै कञ्जुस्याइँ नगर्न महानिर्देशकलाई निर्देशन दिए।

सरकारले चालु आर्थिक वर्षमा खर्च कटौती र मितव्ययितालाई प्राथमिकता दिएको जानकारी दिँदै अर्थमन्त्रीले २२ वटा मन्त्रालयलाई १८ मा झार्दा करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको बताए।

यस्तै अर्थतन्त्रलाई गतिशील बनाउन यसपटकको बजेटमार्फत २७ वटा विभिन्न कानून परिमार्जनको प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे। अर्थ मन्त्रालयलाई केवल राजस्व उठाउने र खर्च गर्ने निकायमा मात्र सिमित नराखी ‘अर्थतन्त्रको मन्त्रालय’ का रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई चिर्दै आगामी पाँच वर्षभित्र बोल्ड निर्णयहरूका माध्यमबाट उल्लेख्य सुधारका नतिजाहरू जनतामाझ पुर्‍याउने अठोट अर्थमन्त्री वाग्लेले व्यक्त गरेका छन्। 


प्रकाशित : बिहीबार , साउन ७ २०८३१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend