काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ। सो अवसरमा भौगोलिक संकेतको अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे प्रकाश पारिएको थियो।
भेटका क्रममा एफएओका प्रतिनिधिले विश्वका अधिकांश देशहरूका साथै एसियाका लगभग सबै राष्ट्रमा जीआई प्रणाली लागु भइसके तापनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराए।
नेपाली रैथाने वस्तुहरूको जीआई दर्ता नहुँदा यहाँका बहुमूल्य ब्रान्डहरू अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल पक्का कानून बनाएर कार्यान्वयनमा लैजान जोड दिए।
जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानून निर्माण गर्न आफू प्रतिबद्ध रहेको र यस विषयमा पहल सुरु गरिसकेको जानकारी गराइन्। उनले यस विषयलाई गम्भीरताका साथ लिँदै कानून मन्त्रालयसँग सहकार्य गरी चाँडै विधेयक तयार पारेर अगाडि बढ्ने बताइन्।