बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बाढीपहिरोले ७ जिल्लाका प्रमुख सडक अवरुद्ध

बिहीबार , साउन ७ २०८३
बाढीपहिरोले ७ जिल्लाका प्रमुख सडक अवरुद्ध
फाइल तस्बिर।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

काठमाडौं- लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलो-गेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले आज बिहान ९:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्णरूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामाबगर-रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

मुगुको छायानाथ रारा नगरपालिका-७ पिना खोलास्थित नाग्म-गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ७ २०८३११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend