काठमाडौं- जावलाखेल डिस्टिलरीले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी उल्लेख्य वृद्धि गरेको छ। कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै कम्पनीले १ अर्ब २३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। आम्दानीसँगै सञ्चालन नाफामा उल्लेख्य सुधार देखिए पनि सञ्चालन पुँजीको आवश्यकता बढ्दै जाँदा कम्पनीमाथि वित्तीय दबाब बढ्न थालेको इक्रा नेपालले जनाएको छ।
इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको दीर्घकालीन ऋणको साख एलबीबी– र अल्पकालीन ऋणको साख ए–४ यथावत राखिएको छ। कम्पनीको व्यापार विस्तार, बिक्री वृद्धि र नाफामा सुधार सकारात्मक पक्ष भए पनि सञ्चालन पुँजीमा बढ्दो आवश्यकता, भविष्यमा बैंक ऋण बढ्न सक्ने सम्भावना तथा मदिरा उद्योगसँग सम्बन्धित नीतिगत जोखिमका कारण रेटिङमा सुधार नगरिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८०/८१ मा ऋणात्मक रहेकामा आर्थिक वर्ष २०८१/८२ मा २७ प्रतिशत पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो थप सुधार हुँदै ३१ प्रतिशत पुगेको छ।
कम्पनीका प्रमुख ब्रान्ड ब्लु डायमण्ड जिन र रुस्लान भोड्काको बिक्री बढ्नुका साथै नयाँ ‘रेडी टू ड्रिंक’ उत्पादन बजारमा ल्याइएकाले आम्दानी र नाफा दुवैमा सकारात्मक प्रभाव परेको इक्रा नेपालको विश्लेषण छ।
बिक्री वितरण प्रणालीमा गरिएको परिवर्तनले कम्पनीको सञ्चालन पुँजीको आवश्यकता उल्लेख्य रूपमा बढाएको छ। राष्ट्रिय वितरकमार्फत बिक्री गर्ने व्यवस्था हटाएर कम्पनीले आफै वितरण सुरु गरेपछि बजारबाट उठ्न बाँकी रकम बढेको छ।
साथै बजेटअघि नै उत्पादन बढाएर मौज्दात राखिएकाले गोदाममा रहेको तयारी वस्तुको परिमाण पनि बढेको छ। यसका कारण सञ्चालन आम्दानीको तुलनामा सञ्चालन पुँजीको अनुपात आर्थिक वर्ष २०८१/८२ को ३० प्रतिशतबाट बढेर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६८ प्रतिशत पुगेको इक्रा नेपालले जनाएको छ।
प्रतिवेदनले आगामी दिनमा कम्पनीलाई सञ्चालन पुँजी व्यवस्थापनका लागि थप बैंक ऋण आवश्यक पर्न सक्ने औंल्याएको छ। समूहभित्रका कम्पनीबाट प्राप्त हुँदै आएको अग्रिम रकम क्रमशः बन्द हुने र वितरण प्रणाली आफै सञ्चालन गर्नुपर्ने भएकाले ऋणको आवश्यकता बढ्न सक्ने उल्लेख गरिएको छ। कम्पनीसँग करिब २२ करोड २० लाख रुपैयाँबराबरको अनुपयोगी कर्जा सीमा उपलब्ध रहेकाले तत्काल तरलता संकटको जोखिम नरहेको इक्रा नेपालको निष्कर्ष छ।
इक्रा नेपालले कम्पनीको आम्दानी सीमित उत्पादनमा निर्भर रहनुलाई पनि चुनौतीका रूपमा औँल्याएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ६५ प्रतिशत हिस्सा ब्लु डायमण्ड जिनबाट आएको थियो। साथै मदिरामा लाग्ने अन्तःशुल्क, भन्सार र अन्य सरकारी नीतिमा हुने परिवर्तनले भविष्यमा कम्पनीको आम्दानी र नाफामा प्रभाव पार्न सक्ने प्रतिवेदनमा उल्लेख छ।