ललितपुर- सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो।
बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरुप किसानले पक्रिया पूरा गरेर कागजात बुझाएमा क्षतिको ७५ प्रतिशत राहत प्रदान गर्ने गरेको छ।
विभागको तथ्यांकअनुसार सङ्क्रमण नियन्त्रणका लागि पछिल्लो तीन महिना देशभर करिब सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा तथा दुई लाख ४३ हजार ६ सय ३५ किलो दाना नष्ट गरिएको छ।
डा. उपाध्यायका अनुसार तीन महिनायता बर्डफ्लु फैलिएको ११ जिल्ला मध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा पूर्णरुपमा नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणउन्मुख छ।