सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २९ २०८३
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकमा यातायात बन्द भएको छ।

कास्की- मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। 

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकमा यातायात बन्द भएको छ।

अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो। 

सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिए।

मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाट-खुलिबाङ-मोहरिया-तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका र एबिसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सडक खुलाउन स्थानीय प्रशासन, प्राविधिक टोली स्याउलीबजार पुगेको बताए। 

अन्नपूर्ण गाउँपालिका-११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी-पुनहिल पदयात्राको प्रवेशद्वार पनि हो।रासस 


प्रकाशित : सोमबार, असार २९ २०८३१४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend