काठमाडौं- नेपालको बैंकिङ क्षेत्रको नाफामा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले ११ महिनाको अवधिमा कुल ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको तुलनामा १९ दशमलव ६२ प्रतिशत बढी हो।
समीक्षा अवधिमा २० बैंकमध्ये १४ वटा बैंकले नाफा बढाएका छन् भने ६ वटा बैंकको नाफा घटेको छ। समग्र बैंकिङ क्षेत्रको नाफामा सुधार देखिए पनि सबै बैंकको वित्तीय प्रदर्शन भने समान रहेको छैन।
सबैभन्दा बढी खुद नाफा कमाउने बैंकको रूपमा नबिल बैंक लगातार पहिलो स्थानमा रहेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँको तुलनामा ३२ दशमलव ५२ प्रतिशत बढी हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि यसको नाफा गत वर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ।
नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। गत वर्षको जेठसम्म ३७ करोड ११ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले यस वर्ष ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै १,१६८.४४ प्रतिशतको ऐतिहासिक वृद्धि हासिल गरेको छ। यससँगै कुमारी बैंक नाफाका आधारमा तेस्रो ठूलो बैंक बन्न सफल भएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ नाफा कमाउँदै चौथो स्थानमा रहेको छ। तर यसको नाफा गत वर्षको तुलनामा २१.०४ प्रतिशतले घटेको छ। एभरेस्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाउँदै पाँचौँ स्थान सुरक्षित गरेको छ, यद्यपि यसको नाफा पनि २.७७ प्रतिशतले घटेको छ।
अन्य बैंकमध्ये प्राइम कमर्सियल बैंकले ३ अर्ब ७४ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ तथा सानिमा बैंकले ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८.८२ प्रतिशत तथा सानिमा बैंकको ४४.८४ प्रतिशतले बढेको छ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकले २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ८० करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६२ करोड ४२ लाख रुपैयाँ तथा माछापुच्छ्रे बैंकले २ अर्ब १७ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। माछापुच्छ्रे बैंकको नाफा ४४.२५ प्रतिशतले बढेको छ।
कृषि विकास बैंकले १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ तथा प्रभु बैंकले १ अर्ब ५० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
यता केही ठूला बैंकको नाफामा भने उल्लेख्य गिरावट देखिएको छ। सबैभन्दा धेरै नाफा घट्ने बैंकको रूपमा एनआईसी एशिया बैंक रहेको छ। बैंकको खुद नाफा ३८.८१ प्रतिशतले घटेर गत वर्षको ८२ करोड ९७ लाख रुपैयाँबाट यस वर्ष ५० करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। प्रभु बैंकको नाफा पनि ३४.९१ प्रतिशतले घटेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेस्ट बैंक र ग्लोबल आइएमई बैंकको नाफामा समेत सामान्यदेखि उल्लेख्य गिरावट देखिएको छ।
यद्यपि हिमालयन बैंकको खुद नाफा १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २८.५९ प्रतिशत बढी हो। नाफाको आकारका आधारमा भने हिमालयन बैंक दोस्रो पुछारमा रहेको छ भने एनआईसी एसिया बैंक सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ।
कुनको कति नाफा?