आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अझै अन्योलमा छन् लगानीकर्ता, नयाँ सरकारले विश्वास जगाउन नसक्दा नेप्से न्यून बिन्दुतर्फ

आइतबार, असार २८ २०८३
अझै अन्योलमा छन् लगानीकर्ता, नयाँ सरकारले विश्वास जगाउन नसक्दा नेप्से न्यून बिन्दुतर्फ

‘हाम्रो सेयर बजारमा ७० प्रतिशत जति बैंक तथा वित्तीय संस्था छन्। राष्ट्र बैंकले लिने नीतिले बजारमा ठूलो प्रभाव पर्छ, अहिले त्यसैको प्रभाव परेको देखिन्छ।’

काठमाडौं- सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको हो।

नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भएपनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि सेयर बजार बढ्ने आशा गरिएको थियो तर सेयर बढ्न सकेको छैन।

गत फागुन २१ गते भएको निर्वाचनअगाडि रास्वपाले आफ्नो वाचा पत्रमा समेत सेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो। तर सरकार बनेदेखि सेयर बजार भने घट्न सुरु भएको थियो।

बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा ठीक अघिल्लो दिन अर्थात चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो तर पछिल्लो कारोबार दिन शुक्रबारसम्म आइपुग्दा नेप्से परिसूचक २६०० को बिन्दुमा आएको छ। यसरी हेर्दा बालेन सरकार आएयता मात्र समग्रमा ३ सय ५० अंकले घटेको छ। यो सेयर बजारको ठूलो गिरावट हो।

गत पुस ९ गते बजार २५९७ बिन्दुमा बन्द भएको थियो। त्यसयता भने भने शुक्रबार नेप्से परिसूचक २६०० बिन्दुमा आएको हो। यो ६ महिनाको अवधिमा नेप्से परिसूचक उच्चतम २९७० (चैत ११ गते) पुगेको थियो। तर त्यसयता भने बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ।

बजेट र मौद्रिक नीतिले जगाउन सकेन उत्साह

नेप्सेमा भएको कारोबारको ट्रेण्डलाई हेर्ने हो भने बजेट पछि नै सेयर बजार घटेको देखिएको छ। लगानीकर्ताले लामो समयदेखि माग गरेको पुँजीगत लाभ कर नै अन्तिम कर हुनुपर्ने भन्दै आएका थिए। व्यावहारिक रूपमा त पुँजीगत लाभ कर नै अन्तिम कर भएपनि कानूनी रूपमा भने मान्यता पाएको थिएन। लगानीकर्ताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भने उक्त माग राखेका थिए।

लगानीकर्ताको मागबमोजिमै वाग्लेले पनि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजीगत लाभ कर नै अन्तिम कर हुने व्यवस्था गरेका थिए तर पनि सेयर बजार भने बढ्न सेकेको छैन।

बजेटमा वाग्लेले सेयर बजारको सुधारका लागि भन्दै १० वटा नीतिहरु लिएका थिए। जसमा एनआरएनको लगानी भित्र्याउनेदेखि नेप्सेको पुनर्संरचनाको विषयसमेत परेको थियो तर बजारमा भने त्यसको खास असर देखिएन।

अर्थमन्त्री वाग्लेले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुअगाडि जेठ १३ गते नेप्से ५ अंकले बढेर २७८२ बिन्दुमा बन्द भएको थियो।

गएको जेठ १५ गते बजेट प्रस्तुत भयो। त्यसपछि भएको कारोबारमा धेरैले सकारात्मक सर्किट लेभलमा नेप्से पुग्ने अनुमान गरेका थिए तर बजारले भने उल्टो बाटो समात्यो। बजेटपछि पहिलो कारोबार दिन नै नेप्से २६.७२ अंकले घटेर २ हजार ७ सय ५५ बिन्दुमा आएको थियो।

बजेट आएयता मात्रै पनि नेप्से ८६ अंकले घटेको छ। बजेटपछाडि पूरै सेयर बजारको ट्रेन्ड हेर्ने हो भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। कारोबारमा समेत त्यस्तो उत्साह देख्न सकिँदैन।

बजेटमा राम्रो नीति आएको भएपनि केही धरपकड (व्यवसायीहरूको पक्राउ)ले गर्दा पनि लगानीकर्ता अन्योल भएकाले गर्दा बजेटपछि सेयर बजार बढ्न नसकेको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन्।

‘धरपकड भएकाले लगानीकर्तामा अन्योलको स्थिति सिर्जना भयो, अब के हुन्छ कुन कम्पनी पक्राउ खाने हो भन्ने अवस्था आयो’, पाण्डेले भने, ‘बजार जहिले पनि ठूला लगानीकर्ताले बढाउने हो। ठूला लगानीकर्ता आत्तिएर बजेट पछि नबढेको हो।’

बजेटपछि सेयर बजार नबढेपछि सबैको ध्यान राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा गएको थियो। तर मौद्रिक नीतिले भने सेयर बजारका लागि खासै त्यस्तो नीति केही पनि लिएको देखिएन।

मौद्रिक नीति नै सम्भवतः इतिहासकै सबैभन्दा छोटो आएको थियो। त्यसमा पनि सेयर धितो कर्जामा राम्रो नेटवर्थ र वित्तीय अवस्था राम्रो भएको कम्पनीहरूको सेयर धितो राखेरमात्र कर्जा बढी पाइने खालको नीति आयो। यसले पनि सेयर बजारलाई सकारात्मक प्रभाव पारेको देखिएको छैन।

राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले गत असार २३ गते मौद्रिक नीति सार्वजनिक गरेका थिए। मौद्रिक नीति आएयता मात्र ३ दिन सेयर कारोबार भएको छ। तर लगातार ३ नै दिन सेयर बजार घटेको छ। मौद्रिक नीति आययता मात्र नेप्से ५१ अंकले घटेको छ।

मौद्रिक नीति आउनु अघिल्लो दिन नेप्से बढेर २ हजार ६ सय ५१ बिन्दुमा पुगेको थियो तर पछि भने निरन्तर नेप्से घटेर गत शुक्रबारसम्ममा २६०० को बिन्दुमा आएको छ।

मौद्रिक नीतिले कम्पनीको अवस्था हेरेर कर्जा विस्तार गर्ने नीति लिएको कारणले गर्दा सेयर बजार बढ्न नसकेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपाल बताउँछन्।

‘हाम्रो सेयर बजारमा ७० प्रतिशत जति बैंक तथा वित्तीय संस्था छन्। राष्ट्र बैंकले लिने नीतिले बजारमा ठूलो प्रभाव पर्छ’, नेपालले भने, ‘अहिले त्यसैको प्रभाव परेको देखिन्छ।’

लगानीकर्ताले राम्रो नराम्रो सबै कम्पनीको सेयर किनेर राखेको हुनाले गर्दा नराम्रो कम्पनीको सेयर राखेर कर्जा नपाइने अवस्था आएपछि मौद्रिक नीति पछि सेयर बजार घटेको नेपालको बुझाइ छ।

लगानीकर्ताले बजेट पछाडि मौद्रिक नीतिलाई पर्खिएको तर खास त्यस्तो कुनैपनि कुरा मौद्रिक नीतिमा नआएकाले बजार घटेको पाही इन्भेष्टमेण्ट प्रालि (ब्रोकर नम्बर ७९) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल धिताल बताउँछन्।

‘खास मौद्रिक नीतिमा सेयर बजारको लागि केही पनि आएन’, धितालले भने, ‘अहिले लगानीकर्ता धितोपत्र बोर्डतिर हेरेर बसेको अवस्था छ।’

नेप्सेमा भएको ट्रेन्ड हेर्दा पनि धितालले भनेको कुरा मेल खान्छ। बजेटअघि र मौद्रिक नीति आउनु अघिल्लो दिनसम्म उत्तारचढावकाबीच नेप्से जम्मा २१ अंकले मात्र घटेको छ। तर मौद्रिक नीति आए यता मात्र ३ दिन कारोबार हुँदा नेप्से पूरै ५१ अंकले घटेको देखिन्छ।

मौद्रिक नीतिले सेयर बजारको लागि राम्रो कुरा केही पनि नआए पनि नराम्रो समेत नआएको कारणले गर्दा अहिलेको घटाइको कारण मौद्रिक नीति मात्र भन्न नमिल्ने अध्यक्ष पाण्डेको भनाई छ। बजार २ हजार ६ सयको आसपासमा आएपछि लगानीकर्ताले स्टप प्लस गर्न थालेका कारणले पनि बजारमा प्रेसर आएको पाण्डेको भनाइ छ।

‘असार मसान्त क्लोजिङको बेला भएकाले गर्दा लगानीकर्तालाई बेच्नुपर्ने प्रेसर परेको पनि छ। ब्रोकरहरुले सेटलमेन्ट गर्न बेच्नका लागि भनेको अवस्था छ’, पाण्डेले भने, ‘अहिले ब्रोकरले पनि लिमिट नदिएको कारणले गर्दा पनि घटेको हो।’

सेयर बजार धेरै हल्लाको भारमा पनि चल्ने भएकाले गर्दा पनि अहिलेको अवस्था आएको अध्यक्ष पाण्डेको बुझाइ छ।


प्रकाशित : आइतबार, असार २८ २०८३१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend