शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

'समृद्ध नेपाल, सुखी नेपाली' नाराको पछि दौडिएको मुलुक ‘बुद्ध नेपाल दुखी नेपाली’को जोखिम

शनिबार, असार २७ २०८३
'समृद्ध नेपाल, सुखी नेपाली' नाराको पछि दौडिएको मुलुक ‘बुद्ध नेपाल दुखी नेपाली’को जोखिम

अर्थतन्त्रको धरातल र केही उदाउँदा संकेतले नेपाल विकासले समृद्ध हुने जनता सुखी हुनेभन्दा वृद्ध नेपाल र दुखी नेपाली हुने जोखिम बढेर गएको छ। नेपालको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनले यस्तो जोखिम बढाएको छ।

काठमाडौं- नयाँ संविधान जारी भएपछि राजनीतिक दलहरूबीचमा फ्ल्यागसिप नारा र अभियान घोषणा गर्ने प्रतिस्पर्धा नै चल्यो। चुनावी घोषणापत्रमा ‍नेपाललाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने खालका नारा घोषणा गरियो। 

नयाँ संविधान जारी भएपछिको पहिलो आम निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले त सुखी नेपाली समृद्ध नेपाल भनेर सरकारी योजनामै समावेश गराए र आफ्नो पार्टीमा पनि त्यही नाराको रटान लगाइरहेका छन्। कांग्रेसले पनि त्यस्तै खालको नारा तय गरेको थियो। सरकारले नै अंगिकारगरेपछि यही नारालाई सफल बनाउन भन्दै दातृ निकायले पनि आफ्नो सहायता नीतिमा समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि सहायता जारी राख्ने भनेर उल्लेख गरेका छन्। 

दलहरूले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्न थालेकै एक दशक भइसक्यो तर अझसम्म पनि त्यसका लागि हुनुपर्ने आर्थिक विकास र रोजगारी सिर्जनाको सुरसार त परको कुरा अझ जनतामा उकुसमुकुस हुँदा गएको भदौमा युवाहरूले ठूलो विद्रोह गरे। उक्त विद्रोहपछि पनि मुलुकको अर्थतन्त्रको चित्र र चरित्रमा खासै फरक परेको छैन। 

अर्थतन्त्रको धरातल र केही उदाउँदा संकेतले नेपाल विकासले समृद्ध हुने जनता सुखी हुनेभन्दा वृद्ध नेपाल र दुखी नेपाली हुने जोखिम बढेर गएको छ। नेपालको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनले यस्तो जोखिम बढाएको छ। 

एकातिर जनसंख्याको युवावस्था बुढ्यौलीतिर सङ्क्रमण भइरहेको र अर्कोतिर आर्थिक विकासले गति नलिएको हुँदा युवा हुँदै धनी हुने र सुखी हुने सम्भावना न्यून नदेखिएको छ। कम्तिमा अहिले लिइएका योजना, राखिएका लक्ष्यका आधारमा पूरा सम्भावना छैन। 

अबको २० वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्‍याउनका लागि पनि वार्षिक निरन्तर न्यूनतम ७ प्रतिशतको वृद्धिदर चाहिन्छ। नेपाल यस्तो देश हो जहाँ हालसम्म सात प्रतिशत माथिको आर्थिक विकास नै निरन्तर हुन सकेको छैन। 

राज्य संरचनालाई अर्जेन्सीको फिल नहुने सँधै सुविधाजनक अवस्थामा जे छ त्यसमै रमाउने संयन्त्रकै कारणले यस्तो फड्कोको सम्भावना न्यून छ। 

एकातिर समृद्ध हुनका लागि उपयोग हुनुपर्ने जनसांख्यिक लाभको समय भने गुज्रिँदै गएको छ। अहिले नेपालको जनसंख्या युवा अवस्थामा छ। मेडियनएज भनेको २६ वर्ष हो। तर अब यो सँधै रहने देखिएको छ। न्यून जन्मदर, उच्च बाह्य बसाईसराई दरका कारणले जनसंख्या अपेक्षाभन्दा छिटै बुढ्यौलीमा प्रवेश गर्ने चेतावनी यसअघि नै आइसकेको छ।

गरिबीमै बुढो हुने बिडम्बनाबाट बच्नका लागि नेपालले आर्थिक चमत्कार गर्नुपर्ने बताउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले अहिले अर्थमन्त्री छन्। उनी अर्थमन्त्री भएपछि यसो पासो तोड्नका लागि चमत्कार गर्नैपर्ने अडानमा अझै कामय देखिएका छन्। यद्यपि उनले लिएका नीतिको कार्यान्वयनपछि त्यसको अवस्था देखाउनेछ। 

जनसांख्यिक लाभ कसरी लिने भनेर सरकारी तहबाट बहस, छलफलको प्रयास भर्खर सुरू भएको बेला जनसंख्या भने बुढ्यौतर्फको यात्रामा प्रवेश गरिसकेको छ। मुलुकमा सक्रिय जनसंख्या अधिक भएको समयमा आर्थिक विकास उच्च दरमा हुने संसारका धेरै देशका उदाहरण भएपनि नेपालमा भने भर्खर अहिले बहस भइरहेको  छ जब कि मुलुकले आजभन्दा दुई दशक पहिले नै जनसांख्यिक लाभको चरणमा प्रवेश गरिसकेको थियो। मुलुक अहिले जनसांख्यिक लाभको उत्कर्षमा रहेको तथ्यांक पनि सार्वजनिक भइसकेको छ। 

संसारभर भइरहेको प्रक्षेपण मोडल र सर्वमान्य मान्यताअनुसार नेपाली जनसंख्याको चरित्र अहिले लाभमा त छ तर बुढ्यौलीतर्फको यात्रामा प्रवेश गरिसकेको छ। युवा, वयस्क र बुढ्यौलीपना भनेजस्तै जनसंख्यामा परिभाषित बुढ्यौलीमा प्रवेश गरेकाहरूको हिस्साअनुसार तय हुन्छ। 

यदि कुनै पनि जनसंख्यामा ६५ वर्षमाथिको उमेर समूहको संख्या ७ प्रतिशत माथि भएमा बुढ्यौलीतर्फ प्रेवश गरेको मानिन्छ। यो विश्वव्यापी अवधारणा हो। यो अवधारणाअनुसार २०७८ को जनगणनाअनुसार नेपाली जनसंख्या बुढ्यौलीमा प्रवेश गरिसकेको छ। तर यसको मतलब केही वर्षमै बुढ्यौली हुने भने होइन यसका लागि अझै पनि करिब २ दशकमा नेपाली समाज बुढ्यौली समाज हुने प्रक्षेपण गरिएको छ।

नेपालको कुल जनसंख्यामा अहिले ६५ वर्षमाथिको संख्या ६.९ प्रतिशत रहेको छ। तर नेपाल सरकारले ६० वर्षमाथिको उमेर समूहलाई बुढ्यौली मानेकाले यो संख्या १०. २ प्रतिशत छ। 

६५ वर्ष नै माने पनि ६० माने पनि नेपाली जनसंख्या बुढ्यौलीउन्मुख भइसकेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेले जानकारी दिए।‘राष्ट्रसंघीय मान्यता र चलचल्तीको बुझाइअनुसार गएपनि हामी बुढ्यौलीमा गइसकेका छौँ भने हाम्रै कानूनअनुसार गएपनि झन बुढ्यौलीनजिक पुगिसकेका छौँ’, उनले भने। 

यद्यपि नेपालले अब भने ६० बाट ६५ वर्षमाथिलाई बुढ्यौली मान्ने अवस्था आएको उनको भनाइ छ। औसत आयुमा भएको सुधारले पनि अब नेपालले आगामी दिनमा यसमा सुधार गर्ने उनको भनाइ छ। यदी यसो गर्दा पनि नेपाली जनसंख्या बुढ्यौलीमा जाने उनको भनाइ छ। यसका पछाडि अर्को कारण छ जन्मदर। पछिल्लो बालबालिकाको हिस्सा जनसंख्यामा निरन्तर घटेको छ। प्रजननदर  नै प्रतिस्थापन तहभन्दा मुनि झरेको छ भने विवाह टार्ने र बच्चा थोरै जन्माउने प्रवृत्ति देखिएको  छ।

कुल जनसंख्यामा १४ प्रतिशत ६५ वर्षमाथिको उमेर समूहको हिस्सा भएमा बुढ्यौली समाज हुन्छ। यदि ६५ वर्षमाथिलाई बुढ्यौली मान्ने हो भने पनि नेपाल विसं २१११ सम्म बुढ्यौली समाजमा रुपान्तरण भइसक्ने प्रक्षेपण कार्यालयको छ।

त्यस्तै २१ प्रतिशतभन्दा माथि यस्तो हिस्सा भएमा सुपर बुढ्यौली समाज मानिन्छ। संसारमा अहिले जापानको ३० प्रतिशत रहेको छ।

नेपालमा पछिल्लो समयमा ०-१४ वर्ष उमेर समूहको संख्या निरन्तर घट्दै आएको छ। कुल जनसंख्यामा यो समूहको हिस्सा २०५८ मा ३९.४ प्रतिशत थियो। त्यस्तै २०६८ मा यो हिस्सा ३४.९ मा झर‍ेको थियो। २०७८ सम्म पुग्दा २७.८ प्रतिशतमा सीमित भएको छ। संख्यामा  पनि गिरावट आएको छ। २०५८ मा यो समूहको संख्या ८९ लाख ४८ हजार ५८७ थियो भने २०७८ मा पुग्दा ८१ लाख १५ हजार ५७५ मा झरेको छ।

तर पछिल्लो चार दशकमा ६० माथिको समूहको संख्या भने तीन गुणाले बढेको छ। २०४८ सालमा १० लाख भएको यो उमेर समूहको संख्या २०७८ मा २९ लाख ७७ हजार पुगेको छ। हिस्सा पनि ५.८ प्रतिशतबाट १०.२ प्रतिशत पुगेको छ। 

न्यून प्रजननदर, वैदेशिक आप्रवासन, स्वास्थ्यामा सुधार हुँदा औसत आयुमा भएको वृद्धिले गर्दा बुढ्यौली संख्यामा वृद्धि हुँदै आएको छ। यो संख्या बढ्दै गएर आगामी तीन दशकमै परनिर्भर संख्यामा वृद्धि हुने देखिएको छ। 


प्रकाशित : शनिबार, असार २७ २०८३१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend