शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अघिल्लो वर्षभन्दा बढ्यो राजश्व संकलन, वैदेशिक अनुदानमा पनि सुधार

शनिबार, असार २७ २०८३
अघिल्लो वर्षभन्दा बढ्यो राजश्व संकलन, वैदेशिक अनुदानमा पनि सुधार

चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। असार २६ गतेसम्म १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२-८३ मा सरकारको राजश्व संकलन अघिल्लो वर्षको तुलनामा सुधारिएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको असार २६ गतेसम्मको विवरणअनुसार सरकारले कुल राजश्व लक्ष्यको ७९.४९ प्रतिशत संकलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ७७.१५ प्रतिशतको तुलनामा करिब २.३४ प्रतिशत बिन्दुले बढी हो।

चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। असार २६ गतेसम्म १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१–८२ मा भने १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य रहेकामा असार २६ गतेसम्म ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ मात्रै संकलन भएको थियो।

सरकारको प्रमुख आम्दानी स्रोत कर राजश्वतर्फ पनि चालु आर्थिक वर्षमा सामान्य सुधार देखिएको छ। सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ कर राजश्व उठाउने लक्ष्य राखेकोमा असार २६ सम्म ११ खर्ब ८१ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ अर्थात् लक्ष्यको ७९.८४ प्रतिशत संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको लक्ष्यमा ११ खर्ब ५ अर्ब ७७ करोड ४९ लाख रुपैयाँ अर्थात् ७७.९१ प्रतिशत कर राजश्व उठेको थियो।

जनता तथा व्यवसायबाट प्रत्यक्ष रूपमा उठाइने कर राजश्वतर्फ पनि संकलनमा सुधार देखिएको छ। चालु आर्थिक वर्षमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ लक्ष्य राखिएकामा असार २६ सम्म १० खर्ब ६८ अर्ब ३६ करोड २४ लाख रुपैयाँ अर्थात् लक्ष्यको ८०.६ प्रतिशत संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर राजश्व लक्ष्यको ७७.९९ प्रतिशत संकलन भएको थियो।

यद्यपि सेवा शुल्क, जरिवाना तथा अन्य स्रोतबाट उठाइने गैर–कर राजश्वमा भने अपेक्षाकृत कमजोर प्रदर्शन देखिएको छ। चालु आर्थिक वर्षमा १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ गैर–कर राजश्व उठाउने लक्ष्य राखिएकोमा हालसम्म १ खर्ब १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ अर्थात् लक्ष्यको ७३.३५ प्रतिशत मात्रै संकलन भएको छ।

गत आर्थिक वर्षमा गैर–कर राजश्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ लक्ष्य रहेकामा १ खर्ब ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ संकलन भएको थियो, जुन लक्ष्यको ७७.१७ प्रतिशत थियो। यसले चालु आवमा गैर–कर राजश्वको प्रगति गत वर्षको तुलनामा कमजोर रहेको देखाउँछ।

वैदेशिक अनुदान प्राप्तितर्फ पनि लक्ष्यभन्दा निकै कम उपलब्धि भएको छ। चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकोमा असार २६ गतेसम्म २९ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यो लक्ष्यको ५५.८३ प्रतिशत हो।

यद्यपि यो उपलब्धि गत आर्थिक वर्षको तुलनामा केही सुधारिएको छ। गत आर्थिक वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखिएकोमा २२ अर्ब ७ करोड ८७ लाख रुपैयाँ अर्थात् लक्ष्यको ४२.१९ प्रतिशत मात्रै प्राप्त भएको थियो।

समग्रमा हेर्दा चालु आर्थिक वर्षमा कर राजश्व संकलनमा सुधार देखिए पनि गैर–कर राजश्व र वैदेशिक अनुदानमा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन नसकेको तथ्य महालेखा नियन्त्रक कार्यालयको विवरणले देखाएको छ।


प्रकाशित : शनिबार, असार २७ २०८३०९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend