टीकापुर- वित्तीय बचतबारे ज्ञान सिकेपछि कैलालीका महिला आयआर्जनमा जोडिएका छन्।
आम्दानी र खर्चको लेखाजोखा गर्ने र फजुल खर्च घटाउने ज्ञान सिकेपछि परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिला श्रीमान्को कमाइ बचत गर्ने र आफू पनि स्वरोजगार बन्न थालेका हुन्।
टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई वित्तिय साक्षरता कक्षा दिएपछि उनीहरुले रकमको महत्व बुझेर आयआर्जनमा लागेका छन्।
‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सीप सिकेर मात्र जाऔँ’ भन्ने नाराका साथ वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सघाउँदै आएको नगरपालिकाले मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता कक्षामा सहभागी गराएपछि आफूहरूको जीवन फेरिएको र आयआर्जनका कार्यमा लागेका महिलाहरू बताउँछन्।
वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टीकापुरको सत्तीकी विपना गुरुङको जीवन फेरिएको छ। विपनाले दैनिक जीवनमा आइपर्ने व्यवहारिक कुराहरू, रकमको महत्वबारेमा बुझेको बताउँदै सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा सिकेको बताइन्।
विपनाका श्रीमान सुरुमा विदेश जाँदा तालिम बिना गएका थिए। उनले विदेशमा धेरै कठिन काम गर्नुपर्यो। पछिल्लोपटक विपनाले सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने सिकेपछि स्वदेश फर्किएका विपनाका श्रीमान् अहिले तालिम लिएर गए र राम्रो कमाइ भइरहेको छ। वित्तीय साक्षरता कक्षापछि बिपनाले पनि टिकापुर नगरपालिकाले दिएको वेतबासका फर्निचर निर्माणसम्बन्धी ४५ दिने तालिम लिइन्।
तालिमपछि सत्तीमै उनले रोजगारी पनि पाइन्। अहिले विपनाको कमाइले घर खर्च चलेको र दैनिक जीवन चलाउन सहज भएको छ भने श्रीमानको कमाइ बचत भएको छ।
वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यका महिलाहरुलाई विदेशको कमाइ कसरी बचत गर्ने र स्वदेशमै आयआर्जन गरी आम्दानीका स्रोतहरू कसरी बढाउने भन्ने विषयमा सिकाइन्छ।
उनीहरु फजुल खर्च घटाउने, खर्च र आम्दानीको हिसाबकिताब राख्ने, अनावश्यक क्षेत्रमा हुने खर्चहरू घटाउने बारेमा सचेत भएका बताउँछन्। यस वर्ष टीकापुरका दुई ठाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो।
नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमका रिटर्नी स्वयंसेवक धनबहादुर बुढा मगर विसं २०७० बाट निरन्तर वैदेशिक रोजगारी सुरक्षित र उनीहरुका परिवारको सहज जीवनका लागि सामी कार्यक्रममा काम गरिरहेका बताए।
टीकापुर नगरपालिका-१ का वडाध्यक्ष मोहन लुहार विकले सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका परिवारको सुरक्षा र वित्तीय बचतमा सघाएको बताए। उनले तालिम सिकिसकेका उद्यमी बन्ने, व्यवसाय गर्ने कार्य सुरु गर्नुपर्ने बताए।रासस