बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर कारोबारमा अग्रणी नासा सेक्युरिटिजलाई ‘ए माइनस’ रेटिङ, बजारको उतारचढाव मुख्य चुनौती

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २४ २०८३
सेयर कारोबारमा अग्रणी नासा सेक्युरिटिजलाई ‘ए माइनस’ रेटिङ, बजारको उतारचढाव मुख्य चुनौती

काठमाडौं- नेपालको पुँजीबजारमा अग्रणी ब्रोकर कम्पनीमध्ये एक नासा सेक्युरिटिज कम्पनी लिमिटेडले पहिलोपटक बैंकिङ सुविधाका लागि क्रेडिट रेटिङ प्राप्त गरेको छ।

केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा (लङ टर्म बैंक फेसिलिटी) लाई ‘केयर-एनपी ए माइनस’ तथा अल्पकालीन बैंकिङ सुविधा (सर्ट टर्म बैंक फेसिलिटी) लाई ‘केयर-एनपी ए-टु प्लस’ रेटिङ प्रदान गरेको हो।

केयर रेटिङ्स नेपालले ३० अर्ब रुपैयाँ बराबरको बैंकिङ सुविधा मूल्यांकन गर्दै नासाको बलियो बजार उपस्थिति, दुई दशकभन्दा लामो सञ्चालन अनुभव, अनुभवी प्रवर्द्धक, स्वस्थ आम्दानी तथा नाफा, सुदृढ पुँजी संरचना र जोखिम व्यवस्थापन प्रणालीलाई रेटिङको मुख्य आधार बनाएको छ। यद्यपि कम्पनीको आम्दानी अझै पनि सेयर कारोबारको उतारचढावमा अत्यधिक निर्भर रहेकाले बजारमा आउने मन्दी र नियामकीय परिवर्तनलाई मुख्य जोखिमका रूपमा औँल्याएको छ।

प्रतिवेदनअनुसार नासा सेक्युरिटिजले दुई दशकभन्दा बढी समयदेखि नेपालको धितोपत्र बजारमा कारोबार गर्दै आएको छ। कम्पनीको नेतृत्व अध्यक्ष मदन पौड्याल ले गर्दै आएका छन्, जससँग वित्तीय तथा पुँजीबजार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ।

प्रमुख प्रवर्द्धक सन्दीप जालान वित्त व्यवस्थापन र पुँजीबजारमा लामो अनुभव भएका व्यवसायी हुन्। अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीका कारण कम्पनीले बजारमा स्थायित्व कायम राख्न सफल भएको केयर रेटिङ्स नेपालको निष्कर्ष छ।

नासा सेक्युरिटिजले पछिल्ला वर्षहरूमा नेपालको सेयर दलाल व्यवसायमा अग्रणी स्थान कायम राख्दै आएको छ। २०८३ बैशाख मध्यसम्म कम्पनीले खरिद-बिक्री कारोबार रकमका आधारमा ६.५० प्रतिशत बजार हिस्सा कायम गरेको छ। लगातार ६ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राख्नु कम्पनीको बलियो ग्राहक सञ्जाल, कारोबार क्षमता र सञ्चालन दक्षताको संकेत भएको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीसँग खुद्रा लगानीकर्ता, संस्थागत ग्राहक तथा उच्च सम्पत्ति भएका व्यक्तिगत लगानीकर्ताको सन्तुलित ग्राहक आधार रहेको छ। कुनै एक समूहमा अत्यधिक निर्भरता नरहेकाले ग्राहक केन्द्रित जोखिम पनि न्यून रहेको प्रतिवेदनले जनाएको छ।

वित्तीय प्रदर्शनतर्फ कम्पनीले उल्लेखनीय सुधार गरेको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको ३२ करोड ३० लाख रुपैयाँबाट बढेर ८३ करोड ४० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी खुद नाफा ७ करोड ७० लाख रुपैयाँबाट बढेर ३१ करोड २० लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीमार्फत भएको कुल सेयर कारोबार करिब १९८ प्रतिशतले वृद्धि भएर २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कारोबार रकममा आएको तीव्र वृद्धिका कारण दलाली कमिसन आम्दानी उल्लेखनीय रूपमा बढेको र त्यसैको प्रभाव नाफामा परेको हो।

केयर रेटिङ्स नेपालका अनुसार कम्पनीको कुल सञ्चालन आम्दानीमध्ये करिब ९७ प्रतिशत हिस्सा दलाली कमिसनबाट आउने गरेको छ। यही कारण नेपालको सेयर बजारमा कारोबार बढ्दा कम्पनीको आम्दानी र नाफा तीव्र रूपमा बढ्ने तथा कारोबार घट्दा प्रत्यक्ष असर पर्ने अवस्था रहेको प्रतिवेदनले औंल्याएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार सदस्यका रूपमा सेयर खरिद–बिक्री सेवा प्रदान गर्नुका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेड अन्तर्गत निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) को सेवा पनि उपलब्ध गराउँदै आएको छ। डिम्याट खाता खोल्ने, भौतिक सेयर अभौतिकीकरण गर्ने, धितो राख्ने तथा फुकुवा गर्ने, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र हकप्रद सेयर आवेदनलगायतका सेवा कम्पनीले सञ्चालन गरिरहेको छ।

यसका साथै कम्पनीले २०७९ सालदेखि मार्जिन ट्रेडिङ सुविधा सञ्चालन गर्न थाले पनि सुरुका वर्षहरूमा यसको कारोबार न्यून थियो। तर २०८२ सालमा धितोपत्र बोर्डले जारी गरेको मार्जिन ट्रेडिङ सुविधा निर्देशिका तथा नियामकीय व्यवस्थामा आएको परिवर्तनपछि यो व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।

केयर रेटिङ्स नेपालका अनुसार नेपाल राष्ट्र बैंक ले मार्जिन कर्जासम्बन्धी व्यवस्थामा लचकता अपनाउँदै एकल ऋणी सीमा बढाउनु, जोखिम भार १०० प्रतिशतमा सीमित गर्नु तथा बैंकहरूलाई यस क्षेत्रमा थप लगानी गर्न सहज बनाउनु कम्पनीका लागि सकारात्मक भएको छ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सर्ट सेलिङ, इन्ट्रा–डे ट्रेडिङ तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न दिने घोषणा गरेपछि नेपालको पुँजीबजार थप विस्तार हुने अपेक्षा गरिएको छ। यस्ता नीतिगत सुधारबाट नासा सेक्युरिटिजले मार्जिन ट्रेडिङ तथा दलाली व्यवसाय विस्तार गर्ने अवसर प्राप्त गर्ने प्रतिवेदनमा उल्लेख छ।

पुँजी संरचनातर्फ कम्पनीको अवस्था सन्तोषजनक रहेको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) ८५ करोड ७० लाख रुपैयाँ पुगेको छ भने कुल ऋण ७५ करोड ७० लाख रुपैयाँ रहेको छ। यस आधारमा कम्पनीको गियरिङ अनुपात ०.८८ गुणा मात्रै रहेको छ, जुन सहज स्तर मानिन्छ।

यद्यपि आर्थिक वर्ष २०८३/८४ को पहिलो नौ महिनामा कम्पनीले ३४ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गरेपछि खुद सम्पत्ति केही घटेको छ। साथै मार्जिन कर्जा विस्तारका लागि बैंकबाट थप ऋण लिएपछि गियरिङ अनुपात बढेर १.४८ गुणा पुगेको प्रतिवेदनमा उल्लेख छ। तथापि पूँजी संरचना अझै पनि सहज अवस्थामा रहेको केयर रेटिङ्स नेपालको निष्कर्ष छ।

कम्पनीले आफ्नै प्रविधिमा आधारित डिजिटल कारोबार प्रणाली विकास गरेको छ। ग्राहक दर्तादेखि कारोबार, ब्याक–अफिस सञ्चालन तथा ग्राहक व्यवस्थापनसम्मका प्रणाली आफैंले विकास गरेकाले तेस्रो पक्षमाथिको निर्भरता कम भएको, सञ्चालन जोखिम घटेको तथा सेवा प्रवाह थप प्रभावकारी बनेको प्रतिवेदनमा उल्लेख छ। मार्जिन कर्जाका लागि ग्राहक, कम्पनी, सेयर र क्षेत्रगत जोखिम सीमा निर्धारण गरी वास्तविक समयमै निगरानी गर्ने व्यवस्था पनि कम्पनीले विकास गरेको छ।

यद्यपि केयर रेटिङ्स नेपालले कम्पनीको आम्दानी अझै पनि सेयर बजारको कारोबारमा अत्यधिक निर्भर रहेको जनाएको छ। पुँजीबजारमा कारोबार घटे, लगानीकर्ताको मनोबल कमजोर भयो वा बजारमा ठूलो गिरावट आयो भने कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्ने जोखिम रहेको प्रतिवेदनले औंल्याएको छ।

त्यसैगरी दलाल व्यवसाय, मार्जिन कर्जा, ग्राहक पहिचान (केवाईसी), सम्पत्ति शुद्धीकरण निवारण (एएमएल), प्रविधि तथा नियामकीय अनुपालनसम्बन्धी नियममा हुने परिवर्तनले पनि कम्पनीको सञ्चालन खर्च र व्यवसायमा प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ।


प्रकाशित : बुधबार, असार २४ २०८३१६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend