काठमाडौं- तीन महिनायता नेपालमा बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण तीव्र रूपमा फैलिएको छ। पहिलो पटक मोरङमा संक्रमण पुष्टि भएको तीन महिनाभित्रै यो रोग ११ जिल्लाका ८२ स्थानमा फैलिएको पशुसेवा विभागले जनाएको छ।
विभागका अनुसार २०८२ चैत ४ गते मोरङमा पहिलो पटक बर्डफ्लु पुष्टि भएयता संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा तथा अन्य चराचुरुंगी नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ हजार ९५४ दशमलव ८५ क्विन्टल पन्छीको दाना पनि नष्ट गरिएको छ।
केही दिनअघि गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका कागमा समेत बर्डफ्लु संक्रमण पुष्टि भएको विभागले जनाएको छ। जंगली पन्छीमा समेत संक्रमण देखिन थालेपछि रोग नियन्त्रण अझ चुनौतीपूर्ण बनेको विभागको निष्कर्ष छ।
संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिएकाले विशेष निगरानी बढाइएको छ।
बर्डफ्लु भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जीन परीक्षण भइरहेको विभागले जनाएको छ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा स्टेरिलाइज गरेर मात्र प्रयोग गर्न तथा जंगली र घरपालुवा पन्छीबीच सम्पर्क हुन नदिन आग्रह गरेको छ।
त्यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादन ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी परे वा मरे तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।