काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घट्ने क्रम जारी रहँदा बेन्चमार्क ब्रेन्ट क्रुड युद्धअघिकै तहमा झरेको छ।
पश्चिम एसियामा इरान-इजरायल तनावका कारण बढेको आपूर्ति जोखिम कम भएसँगै विश्व तेल बजारमा मूल्य लगातार ओरालो लागेको हो।
शुक्रबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ४.३४ प्रतिशत (३.२७ डलर) घटेर प्रतिव्यारेल ७१.९९ अमेरिकी डलरमा झरेको छ। अमेरिकी बेन्चमार्क डब्लुटीआई क्रुड पनि ३.७४ प्रतिशत (२.६९ डलर) घटेर ६९.२३ डलर प्रतिव्यारेलमा कारोबार भएको छ।
अन्य प्रमुख तेल सूचकहरूमा पनि गिरावट देखिएको छ। मर्बान क्रुड ३.६५ प्रतिशत घटेर ६६.५४ डलर, ओपेक बास्केट ३.६० प्रतिशत घटेर ७७.३७ डलर तथा भारतीय बास्केट ६.०७ प्रतिशत घटेर ७०.७१ डलर प्रतिव्यारेलमा झरेको छ।
केही साताअघि पश्चिम एसियामा बढेको तनावका कारण विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज प्रभावित हुन सक्ने आशंकाले ब्रेन्ट क्रुडको मूल्य करिब ९८ डलर प्रतिव्यारेलसम्म पुगेको थियो।
तर तनाव विस्तार नहुने संकेत, युद्धविरामको अवस्था कायम रहनु र तेल आपूर्तिमा कुनै ठूलो अवरोध नआएपछि बजारमा जोखिमको मनोविज्ञान कमजोर बन्दै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव कच्चा तेलको मूल्यमा देखिएको हो।
कच्चा तेलको मूल्य युद्धअघिकै तहमा झर्नुलाई विश्व अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। मूल्य घट्दा ढुवानी र उत्पादन लागत कम हुने, मुद्रास्फीतिमाथिको दबाब घट्ने तथा ऊर्जा आयातमा निर्भर मुलुकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।