काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २२ लाख ३९ हजार रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कूल दुई हजार ५५६ जनालाई कारबाही गरिएको हो। रासस