शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अमेरिका-इरान सम्झौतापछि नाकाबन्दी अन्त्य, ६० दिनभित्र अन्तिम शान्ति सम्झौताको लक्ष्य

शुक्रबार, असार ५ २०८३
अमेरिका-इरान सम्झौतापछि नाकाबन्दी अन्त्य, ६० दिनभित्र अन्तिम शान्ति सम्झौताको लक्ष्य

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारी लागू भएसँगै अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दी हटाएको छ।

काठमाडौं- अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारी लागू भएसँगै अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको मध्य कमाण्ड (सेन्ट्रल कमाण्ड) ले राष्ट्रपतिको निर्देशनअनुसार नाकाबन्दी अन्त्य गरिएको पुष्टि गर्दै केही अमेरिकी युद्धपोत भने क्षेत्रमा नै रहने समाचार संस्था बीबीसीले  जनाएको छ।

सम्झौता कार्यान्वयनमा आएलगत्तै इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले आफूले सम्झौताबारे ‘फरक धारणा’ राखे पनि राष्ट्रपति मसुद पेजेस्कियानले इरानी जनताको अधिकार सुरक्षित रहने प्रत्याभूति दिएपछि सम्झौतामा स्वीकृति दिएको बताएका छन्।

खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतासामा परेर उपलब्ध सबै दबाबका उपाय प्रयोग गरी’ सम्झौता गराउन खोजेको आरोपसमेत लगाएका छन्। उनले भविष्यमा तेहरान र वासिङ्टनबीच प्रत्यक्ष वार्ता हुने भए पनि त्यसलाई ‘शत्रुको धारणा स्वीकार गरेको’ रूपमा नबुझ्न आग्रह गरेका छन्।

यो सम्झौता सार्वजनिक भएपछि खामेनीको पहिलो औपचारिक प्रतिक्रिया हो। गत मार्चमा उनले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको स्थान ग्रहण गरेका थिए। फेब्रुअरी २८ मा भएको अमेरिका-इजरायल आक्रमणमा अली खामेनी मारिएपछि क्षेत्रीय युद्ध चर्किएको थियो।

१४ बुँदे समझदारीको केन्द्रमा आणविक कार्यक्रम र स्ट्रेट अफ हर्मुज

अमेरिका–इरान समझदारी १४ मुख्य बुँदामा आधारित छ। यसअन्तर्गत बन्द रहेको स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने तथा देशको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने व्यवस्था गरिएको छ।

यद्यपि उक्त कोषमा अमेरिका प्रत्यक्ष रूपमा रकम उपलब्ध गराउन बाध्य हुने छैन। समझदारीमा अधिकतम ६० दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने आवश्यक परे दुवै पक्षको सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था छ।

स्विट्जरल्यान्डमा हस्ताक्षर समारोह रद्द

सम्झौतामा औपचारिक हस्ताक्षरका लागि शुक्रबार स्विट्जरल्यान्डमा कार्यक्रम तय गरिएको थियो। तर मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले सम्झौता अनलाइन माध्यमबाट नै सम्पन्न भइसकेकाले समारोह रद्द गरिएको जनाएको छ।

यद्यपि अमेरिकी र इरानी प्रतिनिधिहरू थप प्राविधिक वार्ताका लागि स्विट्जरल्यान्डमा भेट्ने अपेक्षा गरिएको छ।

यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड भ्रमण पनि तत्कालका लागि स्थगित गरिएको छ। ह्वाइट हाउसका अनुसार प्राविधिक वार्ताको कार्यतालिका अझै अन्तिम रूप नपुगेकाले भ्रमण रोकिएको हो।

भान्सले वार्ताको नयाँ चरण सुरु भइसकेको र आफूले सम्भवतः अमेरिकी टोलीको नेतृत्व गर्ने बताएका छन्। उनले इरानलाई ‘बाहिर निस्कन सजिलो देश नभएको’ टिप्पणी गर्दै भ्रमणको मिति अझै निश्चित नभएको बताए।

अमेरिकाभित्रै आलोचना

राष्ट्रपति ट्रम्पको युद्ध अन्त्य गर्ने निर्णयलाई अमेरिकाभित्रै मिश्रित प्रतिक्रिया प्राप्त भएको छ। विशेषगरी इरानको पुनर्निर्माणका लागि ठूलो कोषको व्यवस्था गरिएको विषयमा रिपब्लिकन नेताहरूले असन्तुष्टि जनाएका छन्।

रिपब्लिकन सिनेटर बिल क्यासिडीले सम्झौतिलाई ‘दशकौँयताकै सबैभन्दा खराब वैदेशिक नीति सम्बन्धी गल्ती’ को संज्ञा दिएका छन्। उनका अनुसार इरानको आणविक महत्वाकांक्षा नियन्त्रण नभएको र स्ट्रेट अफ हर्मुजलाई दबाबको माध्यम बनाउने रणनीति सफल भएको सन्देश गएको छ।

तर भान्सले इरानले आफ्ना दायित्व पूरा नगरेसम्म कुनै आर्थिक सुविधा वा प्रतिबन्ध छुट नपाउने स्पष्ट पारेका छन्। उनका अनुसार समझदारीले इरानलाई समृद्ध युरेनियमको भण्डार नष्ट गर्न तथा क्षेत्रीय प्रतिनिधि समूहहरूलाई आर्थिक सहयोग नगर्ने प्रमाणित गर्न बाध्य बनाउँछ।

इजरायलसँग मतभेद सतहमा

सम्झौतापछि अमेरिका र इजरायलबीच दृष्टिकोणको भिन्नता पनि देखिएको छ। भान्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारका केही मन्त्रीहरूले सम्झौताको आलोचना गरेकोमा असन्तुष्टि जनाएका छन्।

विशेषगरी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर र अर्थमन्त्री बेजालेल स्मोट्रिचको आलोचनाप्रति प्रतिक्रिया दिँदै भान्सले ‘यथार्थ बुझ्ने समय आएको’ बताएका छन्।

उनले इजरायलले आफ्ना सबै सुरक्षा समस्या केवल सैन्य कारबाहीमार्फत समाधान गर्न नसक्ने उल्लेख गर्दै शान्ति प्रक्रियाको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

यद्यपि सम्झौता घोषणा भएयता पनि इजरायल र इरान समर्थित हिजबुल्लाहबीच आक्रमण–प्रत्याक्रमण जारी रहेको छ। लेबनानको राजधानी बेरुतमा भएको पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु भएको बताइएको छ।

भान्सले नागरिकको ज्यान जाने गरी हुने आक्रमण ‘स्वीकार्य नभएको’ भन्दै इजरायलले इरानसँगको शान्ति प्रक्रियालाई सम्मान गर्नुपर्ने बताएका छन्।

 


प्रकाशित : शुक्रबार, असार ५ २०८३०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend