काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार यस अवधिमा देशको मौद्रिक क्षेत्र, तरलता व्यवस्थापन, निक्षेप संकलन, कर्जा प्रवाह, ब्याजदर र डिजिटल भुक्तानी प्रणालीमा व्यापक उतारचढाव देखिएको छ।
समीक्षा अवधिमा देशको विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ६.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८३ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ।
यसैगरी खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा/नोक्सान समायोजित) ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ३२.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ४ खर्ब ३८ अर्ब ५२ करोड अर्थात् २२.० प्रतिशतले बढेको थियो। खुला बजार कारोबार र नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरी अधिक तरलता प्रशोचन गरिएकोले समीक्षा अवधिमा सञ्चित मुद्रा १.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४.५ प्रतिशतले बढेको थियो। यद्यपि वार्षिक बिन्दुगत आधारमा २०८३ बैशाख मसान्तमा सञ्चित मुद्रा ९.० प्रतिशतले बढेको छ।
मौद्रिक क्षेत्रको आन्तरिक दाबी र निक्षेप परिचालनतर्फ समीक्षा अवधिमा कुल आन्तरिक दाबी ०.०३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो दाबी २.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा यो दाबी ३.८ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३२.८ प्रतिशतले घटेको छ। जुन अघिल्लो वर्ष २४.१ प्रतिशतले घटेको थियो र वार्षिक बिन्दुगत आधारमा १५.० प्रतिशतले घटेको छ। निजी क्षेत्रमाथिको दाबी भने ६ प्रतिशतले बढेको छ। जुन अघिल्लो वर्ष ७.६ प्रतिशतले बढेको थियो र वार्षिक बिन्दुगत आधारमा ६.५ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत अर्थात् ६ खर्ब ८५ अर्ब ४१ करोडले वृद्धि भइ कुल ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ६.२ प्रतिशत अर्थात् ३ खर्ब ९९ अर्ब ८१ करोड रुपैयाँले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा निक्षेप १६.० प्रतिशतले बढेको छ। कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८ प्रतिशत, ४६.२ प्रतिशत र ३८.२ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्ष क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत थियो। कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.७ प्रतिशत रहेको छ, जुन २०८२ बैशाखमा ३५.४ प्रतिशत थियो।
निजी क्षेत्रतर्फको कर्जा प्रवाहको अवस्था हेर्दा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जा ५.७ प्रतिशत अर्थात् ३ खर्ब १२ अर्बले वृद्धि भइ कुल ५८ खर्ब ९ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशत अर्थात् ३बखर्ब ६८ अर्ब ६८ करोडले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा ६.७ प्रतिशतले बढेको छ।
प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत अंश रहेको छ। जुन अघिल्लो वर्ष क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थियो। संस्थागत रूपमा वाणिज्य बैंकहरूको कर्जा ५.८ प्रतिशत, विकास बैंकहरूको ५.० प्रतिशत र वित्त कम्पनीहरूको २.९ प्रतिशतले बढेको छ। धितोका आधारमा चालु सम्पत्तिको सुरक्षणमा १४.९ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६३.५ प्रतिशत कर्जा रहेको छ। जुन गत वर्ष क्रमशः १४.६ प्रतिशत र ६५.१ प्रतिशत थियो।
क्षेत्रगत रूपमा निर्माण क्षेत्रमा १२.८ प्रतिशत, उपभोग्य क्षेत्रमा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १०.९ प्रतिशत, औद्योगिक उत्पादनमा ६.८ प्रतिशत, सेवा उद्योगमा ३.३ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १.० प्रतिशतले कर्जा बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेको छ।
प्रकृतिका आधारमा ट्रष्ट रिसिट (आयात) कर्जा ३६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १५.५ प्रतिशत, हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियल स्टेट कर्जा ५.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ४.० प्रतिशत र क्यास क्रेडिट कर्जा ०.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ०.७ प्रतिशतले घटेको छ।
तरलता व्यवस्थापन र अन्तरबैंक कारोबारतर्फ राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ९४ अर्ब, स्थायी निक्षेप सुविधामार्फत ३४,२ खर्ब ७२ अर्ब ६० रुपैयाँ करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ गरी कुल ३ खर्ब ७२ खर्ब ६६ अर्ब ६० करोड तरलता प्रशोचन गरेको छ।
ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड प्रवाह गरी खुद ३७२ खर्ब ५४ अर्ब १० करोड बराबरको तरलता प्रशोचन गरेको छ। अघिल्लो वर्ष खुद १९२ खर्ब ३५ अर्ब ६५ करोड तरलता प्रशोचन गरिएको थियो।
बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६ अर्ब ५२ करोड खुद खरिद गरी ९ खर्ब ४६ अर्ब २६ करोड तरलता प्रवाह गरेको छ भने भारु खरिदका लागि अमेरिकी डलर ३ अर्ब ८२ करोड बिक्री गरी ५ खर्ब ५५ अर्ब १० करोड खर्च गरेको छ। अन्तरबैंक कारोबारतर्फ वाणिज्य बैंकहरूको ८ खर्ब ३४ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४४ अर्ब ५५ करोड गरी कुल ९ खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। जुन अघिल्लो वर्ष कुल १६ खर्ब २० अर्ब ५४ करोड थियो।
वित्तीय सबलता सूचक अनुसार औसत प्राथमिक पुँजी र पुँजीकोष अनुपात क्रमशः ९.७६ प्रतिशत र १२.७० प्रतिशत छ भने खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३५.८८ प्रतिशत र २०८२ चैत मसान्तमा निष्क्रिय कर्जा अनुपात ५.६० प्रतिशत रहेको छ।
डिजिटल कारोबारतर्फ बैंकिङ प्रयोग अत्यन्तै उत्साहजनक देखिएको छ। बैशाख महिनामा मात्रै डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ६ लाख कारोबारमार्फत ८२ अर्ब ९३ करोडर रुपैयाँ मोबाइल बैंकिङमार्फत ७ करोड ८९ लाख कारोबारबाट ६ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ र क्युआर कोड भुक्तानीअन्तर्गत ५ करोड ९३ लाख कारोबारमार्फत १ खर्ब ६२ अर्ब ५८ करोड बराबरको कारोबार भएको छ।
