काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
ब्यूरोले आज एक विवरण सार्वजनकि गर्दै बैंकिङ कसूर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ०५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो।
ब्यूरोका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले मिजार काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूरका १२ र चेक अनादरको २ गरी जम्मा १४ वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति भएका बताए।
ती मुद्दामा फैसला भई २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कागम भएको उनले बताए। उनलाई अदालतले बिगो बमोजिन हुन आएको जरिवाना ४३ लाख २३ हजार तथा क्षतिपुर्ति रकम १ लाख ७२ हजार रुपैयाँ र ९० दिन कैद सजाय कायम गरेको थियो।
त्यसपछि फरार रहेका मिजारलाई खोजतलासका लागि खटिएको ब्यूरोको टोलीले यही जेठ २५ गते काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट पक्राउ गरेको थियो। उनलाई आज फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको पनि सहप्रवक्ता खड्काले बताए। रासस
