भोजपुर- भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन्।
स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। 'रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउने गर्छन्', उनले भने, 'देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन । जसले किसानलाई थप उत्साहित बनाएको छ।'
मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ। एकपटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिनसक्ने भएकाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ।
वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको छ। 'अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी लिइरहेका छन्', वडाध्यक्ष थापाले भने, 'त्यसैले यसको विस्तार र प्रवर्द्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ।'
उनका अनुसार वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम, बजार व्यवस्थापन र ब्रान्डिङमासमेत ध्यान दिने योजना बनाएको छ। रुद्राक्ष खेतीसँगै यहाँका किसान अन्य फलफूल तथा तरकारी खेती पनि सँगसँगै गर्दै आएका छन्। तर पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई प्राथमिकता दिन थालेका छन्।
स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक अवस्था सुधार तथा कृषिमा आत्मनिर्भरता बढाउने दिशामा रुद्राक्ष खेतीले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। मैदाने क्षेत्रको यो अभ्यास अन्य सुक्खाग्रस्त तथा पहाडी क्षेत्रका लागि नमुना बन्नसक्ने स्थानीय किसानको भनाइ छ।
वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदाने गाउँका अधिकांश किसानले रुद्राक्षको खेती गर्दै आएका छन्। सडक पहुँच विस्तारका कारण रुद्राक्षको खरिद बिक्रीमा सहजता भएको किसानको भनाइ छ। रासस
