सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

प्रतिनिधि सभाको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २५ २०८३
प्रतिनिधि सभाको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ।

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव प्रस्तुत भएपछि सांसदहरूले बजेटका विभिन्न पक्षमाथि धारणा राख्नेछन्।

बजेटमाथिको छलफलका क्रममा उठेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका प्राथमिकता, राजस्व परिचालन, खर्च व्यवस्थापन, विकास कार्यक्रम तथा आर्थिक सुधारका विषयमा संसद्मा व्यापक बहस हुने अपेक्षा गरिएको छ।

आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकसमेत सदनमा पेस गर्ने कार्यसूची रहेको छ। उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुका साथै उक्त विधेयक संसद्मा पेस गर्नेछन्। यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै ती विधेयक पनि सदनमा पेस गर्ने कार्यक्रम छ।

बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धीसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

त्यसैगरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ संसद्मा पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

 


प्रकाशित : सोमबार, जेठ २५ २०८३०७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend