आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

जापानको सहयोगमा बिपी राजमार्ग पुनर्निर्माण सुरु, पिप्ले-बर्खेखोला खण्ड दुई लेनमा स्तरोन्नति हुने

मंगलबार, जेठ १२ २०८३
जापानको सहयोगमा बिपी राजमार्ग पुनर्निर्माण सुरु, पिप्ले-बर्खेखोला खण्ड दुई लेनमा स्तरोन्नति हुने

नेपालका लागि माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्।

काभ्रेपलाञ्चोक- जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले-बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य सुरु गरिएको छ।

नेपालका लागि माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश का अनुसार जाइकार्फत तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु गरिएको हो। २०८१ असोज १२ गतेको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीका करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो।

पिप्ले-बर्खेखोला खण्डको निर्माण जिम्मा जापानको सिमिजु कर्पोरेसनले पाएको छ। जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान सहयोग उपलब्ध गराउने गरी २०८२ कात्तिक १३ गते नेपाल-जापानबीच द्विपक्षीय सम्झौता भएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि अहिले स्थायी पुनर्निर्माण सुरु गरिएको हो।

यसअघि जाइका टोलीले निर्माणपूर्व क्याम्प स्थापना, अस्थायी सडक निर्माणलगायत पूर्वतयारीका काम सम्पन्न गरिसकेको थियो। योसँगै बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गका चार खण्डमा एकसाथ पुनर्निर्माण कार्य अघि बढिरहेको छ।

हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीन सडकखण्डमा करिब २५ प्रतिशत प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ। गत वर्षको बाढीपहिरो र यस वर्षको वर्षाले थप क्षति पुर्‍याएपछि मङ्सिरदेखि स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।

क्षतिग्रस्त क्षेत्रमा ‘आरसिसी’ पर्खाल निर्माण, खोलाबाट प्लम्प वाल लगाउने तथा सडक सुरक्षा संरचना निर्माणको काम भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी र भकुण्डेबेँसी क्षेत्रमा पर्खाल निर्माण सुरु गरिएको छ भने डालाबेँसी, मङ्गलटार तथा चारसयबेँसी-नार्के खण्डमा सडक चौडा बनाउने काम पनि भइरहेको छ।

गत वर्ष र यस वर्षको बाढीले पूर्ण रूपमा बगाएका स्थानमा भविष्यमा बाढीले क्षति नपुर्‍याउने गरी नयाँ संरचनाको डिजाइन गरिएको जनाइएको छ। यस वर्ष संरचना निर्माण र सडक विस्तारको काम सम्पन्न गरी आगामी वर्ष बाँकी क्षेत्रमा कालोपत्रसहित स्तरोन्नति गरिने योजना रहेको छ।

पुनर्निर्माणपछि बिपी राजमार्गको प्रभावित खण्ड दुई लेनमा स्तरोन्नति गरिने भएको छ। हाल रहेका पुलसँगै थप पुल निर्माण गरी पाँच वटा पुललाई दुई लेनमा रूपान्तरण गर्ने योजना बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी-एवन-कमलजीत जेभी सँग एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

त्यस्तै, चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११ दशमलव ०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा-नवकान्तिपुर जेभी लाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुङ्गा-घिसिङ-क्षितिज जेभी सँग ६१ करोड रुपैयाँमा सम्झौता गरिएको छ।

जाइकाले निर्माण गर्ने खण्डबाहेक अन्य सडकखण्डको ठेक्का सरकारले गत असोजअघि नै लगाइसकेको थियो। क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।

जापान सरकारकै अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण सुरु गरिएको थियो। धुलिखेल-सिन्धुली-बर्दिवास जोड्ने उक्त राजमार्ग २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। रासस


प्रकाशित : मंगलबार, जेठ १२ २०८३०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend