काठमाडौं- आन्तरिक उडानमा प्रवेशको तयारी गरिरहेको डाँफे एयरले प्राविधिक रूपमा उडानयोग्य नभएको गुण एयरलाइन्सको जेटस्ट्रिम जहाज खरिद प्रक्रिया सुरु गरेको छ।
डाँफे एयरका सञ्चालक राजुकुमार श्रेष्ठले गुण एयरलाइन्ससँग रहेका जेटस्ट्रिम जहाज खरिदको विषय अगाडि बढेको बताए। उनले तीनवटा एटीआर जहाज ल्याउन प्राधिकरणबाट पूर्वसहमति पाएपछि उक्त काम अगाडि बढिरहेको र जेटस्ट्रिम जहाज पनि खरिद प्रक्रिया अगाडि बढेको बताए। उनले फिल्ट विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएकोसमेत बताए।
डाँफे एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ३ वटा एटीआर ७२-६०० जहाज खरिदका लागि दुई महिना पहिले पूर्वसहमति पाएको थियो।
२०७९ फागुनदेखि बन्द रहेको गुण एयरलाइन्ससँग ५ वटा जेटस्ट्रिम जहाज छ। एयरलाइन्सले पटक-पटक उडानमा फर्कन खोजेपनि प्राधिकरणले जेटस्ट्रिम जहाजलाई उडानयोग्य प्रमाण दिएको छैन। गुणले यती एयरलाइन्ससँग खरिद गरेको जेटस्ट्रिम जहाजलाई उडानमै फर्कन नदिने तयारीका प्राधिकरण छ।
'जेटस्ट्रिम जहाज नेपाली बजारमा व्यवसायिक रूपमा अब सफल हुने अवस्था नभएका कारण फेरि कुनै कम्पनीलाई धराप बनाउन जहाज उडानयोग्य प्रमाणपत्र दिँदै खरिद-बिक्री गर्न दिने सोच छैन', प्राधिकरण स्रोतले भन्यो, 'जेटस्ट्रिम जहाजको उडानमा आर्थिक रूपमा टाँट पल्टिएको गुण एयरको विषयमा पनि बुझ्नु पर्छ। प्राधिकरणले हचुवाको भरमा जेटस्ट्रिम जहाज खरिद ब्रिक्री हुन दिँदैन। कुनै पनि कम्पनीले प्राधिकरणबाट अनुमति पाउने आशामा जहाज नकिन्दा नै राम्रो हुन्छ।'
तीनवटा जहाज दुर्घटनापछि मकालु एयरबाट नाम परिवर्तन गरेको डाँफे एयरले तीनवटा एटीआर जहाज ल्याउन अनुमति पाएपनि व्यापारिक रुपमा नेपाली बजारमा असफल भइसकेको गुण एयरको जेटस्ट्रिम जहाज खरिद गरेर व्यवसाय विस्तार गर्छु भन्नु नै मुर्खता हुने प्राधिकरण स्रोतको तर्क छ।
अहिले जेटस्ट्रिमका एकजना पनि इन्जिनियर छैनन्। गुण एयरलाइन्सले जहाज किनेपछि पनि यति एयलाइन्सकै इन्जिनियरिङ सेवा लिएका थिए। अहिले जेटस्ट्रिमका इन्जिनियर सबैको लाइनसेन्स म्याद सकिएको छ। यती यएरलाइन्स स्रोतका अनुसार जेटस्ट्रिमका पाइलटको पनि लाइसेन्स अवधि सकिएको छ। जसका कारण जहाज सञ्चालनमा ल्याउन नै समस्या भएको अवस्थामा डाँफेले जहाज खरिद गर्न लागेको हो।
गुण एयरलाइन्सले जहाज बिक्रीका लागि सबैभन्दा पहिले संस्कृति, पर्यटन तथा नागरिक उडान मन्त्रालयबाट वायुसेवा सञ्चालनका लागि लिएको लाइसेन्स नवीकरण गर्नुपर्ने छ। गुणको लाइसेन्स म्याद सकिएको छ। लाइसेन्स सकिएको गुणको उडान योग्यता प्रमाणपत्र (एओसी) पनि लामो समयदेखि निलम्बनमा छ। एओसी निलम्बन भएको ६ महिना पछि स्वत: खारेज हुने कानूनी व्यवस्था छ।
अब गुणले जहाज बिक्रीका लागि पनि लाइसेन्स नवीकरण गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको पाँचवटा प्रक्रिया पूरा गरेर एओसी लिनु पर्छ। तर आर्थिक रुपमा टाँट पल्टेको गुण एयरलाइन्सको दुईवटा 'बीच १९०० C' मोडलका विमानसमेत लिलामीका लागि प्रभु बैंकले सूचना जारी गरिसकेको छ। गुणले पनि जेटस्ट्रिम जहाज यतीसँग किनेको थियो।
यसरी मन्त्रालयबाट एटीआर ७२-६०० जहाज खरिदका लागि पूर्वसहमित पाएको डाँफेले जहाज ल्याउँदै उडानयोग्य प्रमाणपत्र (एओसी) लिनुपर्ने बेला फेरि आर्थिकरूपमा असफल भएको ट्रंकरुटमै उडानका लागि साना जहाज किन्न लागेको हो।
अहिले ट्रंक रुटका सबै विमानस्थलमा एटीआर बाट नै उडान भइरहेको छ। ७२ सिटदेखि ८० सिट क्षमताको जहाजबाट उडान भइरहेका गन्तव्यमा साना १८-२० सिटका जहाजबाट उडान गर्दा प्रतिस्पर्धी बजारमा सफल नहुने एक एयरलाइन्सका सञ्चालन बताउँछन्।
डाँफे एयर कुनै नयाँ भने होइन। तीनवटा जहाज दुर्घटनापछि मकालु एयरबाट नाम परिवर्तन गरेर आन्तरिक उडानमा आउन लागेको एयरलाइन्स हो। सन् २००९ मा स्थापन भएको मकालु एयर तीनवटा जहाजबाट आन्तरिक उडानमा प्रवेश गरेको थियो। सुर्खेत बेस बनाएर उडान गरेको मकालु एयरको उडान अनुमतिपत्र २०२० मा खारेज भएको थियो। एओसी निलम्बन भने २०१८ मे महिनामा नै भएको थियो।
मकालुको तीनमध्ये पहिलो जहाज २०११ को नोभेम्बरमा ताल्चा विमानस्थलमा दुर्घटना भएको थियो। दोस्रो जहाज २०१६ को अप्रिल ८ र तेस्रो जहाज २०१८ मे १६ मा दुर्घटना भएको थियो। तीनवटा जहाजमध्ये अन्तिम जहाज २०१८ को मे १६ मा सिमिकोटमा दुर्घटना भएसँगै मकालु एयर बन्द थियो। तीनवटै जहाज कार्गो उडानका क्रममा दुर्घटना भएको थियो। दुर्घटनापछि मकालु एयर उडानमा फर्कन सकेको थिएन।
यसरी नाम परिवर्तन गरे आउन लागेको डाँफे एयरले प्राधिकरणले तोकेको बेसलाई आधार बनाएर काठमाडौंबाट माउन्टेन उडानदेखि नेपालगञ्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, धनगढी, जनकपुर, भरतपुर, भैरहवा र तुम्लिङटारलगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। डाँफे व्यावसायिक योजनामा केही अस्पष्टता रहेको थियो। अस्पष्टतालाई पूरा गर्ने सर्तमा प्राधिकरणले योजना स्वीकृत गरेको थियो।
डाँफे एभिएसन कर्पोरेशन प्रालि कम्पनी दर्ता हुँदा सञ्चालकमा ललितपुर महालक्ष्मी नगरपालिकाका राजु कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १७ की सञ्जु श्रेष्ठ, काठमाडौं महानगरपालिका १५ का अभिशेषमान श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १० की सुमना कँडेल रहने उल्लेख छ।
उद्योग विभागमा २०६६ कात्तिम ११ मा भएको उद्योग दर्ताअनुसार (साविकको मकालु एयर) कम्पनीको कुल पुँजी २५ करोड, स्थिर पुँजी २२ करोड ५० लाख र चालु पुँजी २ करोड ५० लाख रुपैयाँ उल्लेख रहेको छ। जसमा प्रतिकित्ता एक सय रुपैयाँको दरमा राजुकुमार श्रेष्ठको ५ लाख कित्ता, सञ्जु श्रेष्ठको ३ लाख ५० हजार कित्ता, अभिशेषमानको १ लाख ५० हजार कित्ता, सुमना कँडेलको ५ लाख कित्ता सेयर राखिएको छ।