काठमाडौं- नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनाको निर्जीवन बीमा व्यवसायको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख महिनामा मात्रै सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब १४ करोड ५७ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
वैशाख महिनामा कम्पनीहरूले कुल २ लाख ४१ हजार ८ सय ३५ वटा बीमालेख जारी गरेका छन् भने कुल बीमाङ्क रकम १ खर्ब ३२ अर्ब ८१ करोड ९६ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको कुल तथ्याङ्कलाई हेर्दा निर्जीवन बीमा कम्पनीहरूले २४ लाख ११ हजार ६ सय ६२ वटा बीमालेख जारी गरी कुल ४० अर्ब २९ करोड ५७ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेका छन्।
वैशाख महिनामा मात्रै सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा देखिएको छ। हिमालयन एभरेष्टले वैशाख महिनामा ६३ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
दोस्रोमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४२ करोड ६३ लाख २० हजार रुपैयाँ र तेस्रोमा रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ४९ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
त्यसैगरी, आर्थिक वर्षको वैशाख मसान्तसम्मको कुल व्यवसायका आधारमा भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि रहेको छ। शिखर इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा २ लाख ६८ हजार ६ सय ४४ वटा बीमालेख जारी गर्दै ५ अर्ब १९ करोड २२ लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
कुल व्यवसायका आधारमा दोस्रोमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ३७ करोड ७१ लाख ९१ हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा सबैभन्दा बढी बीमालेख जारी गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ, जसले ३ लाख ४५ हजार ५ सय ३ वटा बीमालेख जारी गरेको छ।
सबैभन्दा कम व्यवसाय गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ। जसले वैशाख मसान्तसम्ममा १ अर्ब १८ करोड ८५ लाख ६७ हजार रुपैयाँ मात्र कुल बीमाशुल्क संकलन गरेको छ।