आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम लगाउँदा अतिरिक्त पारिश्रमिक अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १० २०८३
कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम लगाउँदा अतिरिक्त पारिश्रमिक अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकको सुरक्षा सुनिश्चित गर्न नयाँ नियम कार्यान्वयनमा ल्याएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकको सुरक्षा सुनिश्चित गर्न नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। 

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई स्वीकृत कार्यालय समयभन्दा बढी समय काममा खटाउँदा प्रचलित कानूनी व्यवस्थाबमोजिम अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम भत्ता) उपलब्ध गराउनुपर्नेछ।

यसका साथै वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयबाहेकको अतिरिक्त अवधिमा काम गर्न कुनै पनि बहानामा बाध्य पार्न नपाउने व्यवस्था समेत गरिएको छ। 

बैंकहरूले आफ्ना कर्मचारीहरूलाई प्रचलित कानून तथा केन्द्रीय बैंकको निर्देशनको परिधिभित्र रहेर मात्र काममा लगाउनुपर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ को अधिकार प्रयोग गरी जारी गरिएको यो निर्देशन तत्काल पालना गर्न क, ख र ग वर्गका सबै इजाजतपत्रप्राप्त संस्थाहरूलाई भनिएको छ।

साथै राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय पहुँच सहज बनाउन र कर्मचारीको कार्यसमय व्यवस्थापनलाई थप मर्यादित बनाउन निर्देशन दिएको छ।

नयाँ व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ र त्यसको विवरण आफ्नो वेबसाइटमा अनिवार्य रूपमा राख्नुपर्नेछ। 

यसैगरी एटिएम लाउञ्ज भएका स्थानहरूमा दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि ब्रेल साङ्केतिक कन्ट्रोल बटन र अडियो सपोर्ट सहितको कम्तीमा एउटा अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूले एटिएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवाहरू आफैं प्रयोग गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकहरूले त्यस्ता सेवाहरू उपलब्ध गराउनुपर्नेछ।

डिजिटल बैंकिङलाई थप समावेशी बनाउन बैंकहरूले आफ्नो वेबसाइट र मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्नेछ भने डेबिट र क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री विशेष स्पर्श विशेषता (टेक्टाइल फिचर्स) समावेश गर्नुपर्ने छ। 

जेष्ठ नागरिक, अपाङ्गता भएका र निरक्षर व्यक्तिहरूलाई विशेष प्राथमिकता दिँदै सहज बैंकिङ सुविधाका लागि बैंकहरूमा विशेष काउन्टरको व्यवस्थालाई यथावत् राखिएको छ।

 


प्रकाशित : आइतबार, जेठ १० २०८३११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend